महँगी, विपद् व्यवस्थापन र सञ्चार संकटबारे संसद्मा सरकारको ध्यानाकर्षण
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मुलुकमा तीव्र रूपमा बढिरहेको महँगी, बाढीपहिरो पछिको सुस्त पुनर्स्थापना र सञ्चार क्षेत्रमा देखिएका समस्याबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
चाडपर्व नजिकिँदै गर्दा बजारमा भएको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरे।
बैठकमा सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्।
‘दशैँ-तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ, तर सरकार भने बाह्य कारण देखाएर जिम्मेवारीबाट पन्छिरहेको छ,’ उनले भनिन्। साथै, मौसमी पूर्वानुमान हुँदाहुँदै पनि बाढीपहिरोबाट नागरिकलाई जोगाउन सरकारले पर्याप्त पूर्वतयारी नगरेको उनले बताइन्।
विपद् प्रभावितहरूको दुरवस्थाबारे बोल्दै सांसद बुद्धरत्न महर्जनले प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको बताए। उनले पीडितहरूका लागि तत्काल एकमुष्ट राहत तथा पुनस्र्थापना प्याकेज घोषणा गर्न माग गरे।
त्यस्तै, सांसद भरतप्रसाद पराजुलीले बाढीमा परी बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले तत्काल स्थिति स्पष्ट पार्नुपर्ने र उनीहरूका परिवारलाई मृतकसरह राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
सञ्चार क्षेत्रको मुद्दा उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौतीप्रति आपत्ति जनाए। उनले पत्रकार महासङ्घले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भने, ‘स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले उल्टै यो क्षेत्रलाई सङ्कटमा पारिरहेका छन्।’
यसैगरी सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग पुनः दोहोर्याए। सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र जीर्ण भौतिक पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद भरत गिरीले चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गहरूको सुरक्षा अडिट गर्न र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ लागू गर्न सुझाव दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment