परीक्षा सकिएका नतिजा नरोक्न लोकसेवा आयोगलाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार मनबहादुर थापालगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भइसकेका विज्ञापनहरूको अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्न अन्तरिम आदेश जारी गरेको हो। साथै, सर्वोच्चले विपक्षी लोक सेवा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत भनेको छ।
प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का पाँच पद (विज्ञापन नम्बर १६६७९ देखि १६६८३ सम्म) को परीक्षा तथा अन्तर्वार्ता सकिए पनि नतिजा रोकिएको भन्दै निवेदकहरू सर्वोच्च पुगेका थिए।
सर्वोच्चले आफ्नो आदेशमा परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेका उम्मेदवारको यथाशीघ्र परीक्षाफल पाउनु उनीहरूको वैधानिक अपेक्षा रहेको उल्लेख गरेको छ। लोक सेवा आयोग ऐन, २०७९ को दफा २९ (१) तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ६५ बमोजिम उम्मेदवार छनोटका सबै चरण पूरा भएपछि अन्तिम नतिजा रोक्न नमिल्ने कानुनी व्यवस्था रहेको अदालतले स्मरण गराएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment