सुनसरी, कपिलवस्तु र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ

डिसी नेपाल
८ असोज २०८३ १०:३७

काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

सुनसरीको इनरूवा नगरपालिका-३ सहमति चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित दुई जना मङ्गलवार राति पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-५ का २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यसैगरी सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका-३ शिवचोकबाट अवैध लागूऔषध गाँजा २४ ग्राम ६ सय २० मिलिग्राम, स्पास्मो ४ ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेटसहित सोही गाउँपालिका-२ अखाह बजारका २८ वर्षीय हजरत अली बुधबार बिहान पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लौकहीको टोलीले पक्राउ गरेको हो।

उता कपिलवस्तुको वाणगंगा नगरपालिका-११ वरूवाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-१३ का ३१ वर्षीय जनक गुरूङ बुधबार बिहान पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-१ अत्तरीयाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोडका ३१ वर्षीय हितेश साहु बुधबार दिउँसो पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसहितको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *