बाढी-पहिरोको जोखिम बढेपछि पोखरा र विराटनगरका विद्यालयमा दुई दिन बिदा

डिसी नेपाल
८ असोज २०८३ ९:५१

पोखरा। सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको उच्च जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले आफ्ना सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

मौसममा अचानक आएको परिवर्तन र प्राकृतिक प्रकोपको खतरालाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहने भएका हुन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर पठनपाठन स्थगित गरिएको हो। यस अवधिमा दिइएको बिदालाई पछि आउने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने जानकारी उनले दिएका छन्।

साथै, विपद्को यो जोखिमपूर्ण समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ-आफ्नो क्षेत्रमा सतर्क र सुरक्षित रहन पनि प्रमुख आचार्यले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाले धेरै वर्षाको प्रक्षेपण गरेसँगै पोखराका साथै विराटनगर महानगरपालिकाले पनि सम्भावित जोखिम टार्न आफ्ना क्षेत्रका विद्यालयहरूमा दुई दिन बिदा दिने निर्णय गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *