गुदपाक उद्योगसहित काठमाडौंका चार अखाद्य व्यवसायमा सिलबन्दी र कारबाही
काठमाडौं। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा बजार अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ।
यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह र नेपाल प्रहरीको संयुक्त टोलीले चन्द्रागिरी र स्वयम्भू क्षेत्रका चारवटा खाद्य उद्योग तथा व्यवसायमा छापा मारी कारबाही गरेको छ।
अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डास्थित ‘श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डार’मा अनुमतिपत्र नलिई म्याद नाघेका, लेभल नभएका र किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको पाइएको छ।
उद्योगले म्याद सकिएका चकलेटमा नयाँ लेभल थपेर बिक्री गर्ने गरेको तथा लेभलमा उल्लेख गरिएका मुख्य सामग्री (खुवा, नरिवल, काजु, बदाम) को साटो अखाद्य वस्तु प्रयोग गर्ने गरेको भेटिएको छ।
टोलीले त्यहाँबाट म्याद नाघेको चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, पीठो, स्किम मिल्क पाउडर र अखाद्य गुदपाक तथा पुष्टकारी गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरेको छ। उक्त उद्योगलाई सिलबन्दी गरी उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ।
सोही स्थानमा रहेको ‘बज्रबाराही भण्डार’मा पनि सरसफाइको कमी, एउटै कोठामा प्रशोधन तथा प्याकेजिङ र अनुमतिविना शंकास्पद कच्चा पदार्थ प्रयोग गरिएको पाइएको छ। टोलीले त्यहाँबाट १ लाख ४० हजार रुपैयाँ बराबरको ३५० केजी अखाद्य वस्तु नष्ट गर्नुका साथै नमुना संकलन गरी उद्योग सिलबन्दी गरेको छ।
यस्तै, स्वयम्भूस्थित ‘श्री सस्तो बास्केट’ पसलमा नक्कली डेट कोड र लेभल लगाई सामान बिक्री गरेको उजुरीका आधारमा छापा मार्दा अव्यवस्थित भण्डारण तथा म्याद नाघेका सुजी, ब्रेड क्रम्ब, थाइम र राजमा भेटिएपछि नष्ट गरिएको छ। पसल सञ्चालकलाई ७ दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ।
त्यसैगरी स्वयम्भूमा रहेको ‘यति आइस प्रा. लि.’ ले अर्कै वडाको दर्तामा व्यवसाय चलाएको, विभागको अनुमतिविना आइस क्युब उत्पादन गरेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ पालना नगरेको पाइएकाले सो उद्योगको पनि उत्पादन तथा बिक्री वितरण रोक्का गरी कारबाही अघि बढाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment