भारी वर्षाको सम्भावनापछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौँ। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसमसम्बन्धी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो।
मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान र सङ्घीय अस्पताललाई सम्भावित जोखिमको आकलन गरी आवश्यक स्वास्थ्य सेवा, जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राख्न आग्रह गरेको छ।
सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्वास्थ्य संस्थाले आवश्यक औषधि, उपकरण तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ। विपद्को अवस्था सिर्जना भएमा तत्काल स्वास्थ्यकर्मी परिचालन गर्न सकिने गरी सम्बन्धित निकायले पूर्वतयारी मिलाउनसमेत आग्रह गरिएको छ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने व्यवस्था मिलाउन निर्देशन दिएको छ। आपत्कालीन अवस्था आएमा स्वास्थ्यकर्मीलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि भनिएको छ।
त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ। विपद्को समयमा स्वास्थ्यसम्बन्धी सूचना तथा समन्वयलाई प्रभावकारी बनाउन आपतकालीन कार्यसञ्चालन केन्द्रको भूमिका महत्वपूर्ण हुने भएकाले निरन्तर सञ्चालनको व्यवस्था मिलाउन भनिएको हो।
मन्त्रालयले मौसम पूर्वानुमानअनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबै स्वास्थ्य निकायलाई सतर्क रहन तथा विपद्को अवस्थामा नागरिकलाई तत्काल र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment