हवाई उद्धारमा सास्ती र भन्सार अधिकृतको धम्कीबारे संसद्‌मा प्रश्न

डिसी नेपाल
८ असोज २०८३ ११:४१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जनसरोकार र राज्य संयन्त्रको असफलतासँग जोडिएका दुई गम्भीर विषयमा सरकारको कडा ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको संसद् बैठकमा रास्वपाका सांसद द्वय ज्ञानेन्द्र सिंह महता र टिका संग्रौलाले आपत्कालीन स्वास्थ्य उद्धारमा देखिएको कानुनी जटिलता र भन्सार अधिकृतको विवादास्पद अडियो प्रकरणबारे निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिने कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरे।

उनले आफ्नै परिवारका सदस्यले भोगेको दुःखद घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीलाई छिटो र प्रभावकारी बनाउन ध्यानाकर्षण गराए।

उनका अनुसार कञ्चनपुरस्थित महाकाली अस्पतालमा भदौ ६ गते भर्ना भएकी उनकी भाइबुहारीले भदौ ७ मा शल्यक्रियामार्फत छोरी जन्माएकी थिइन्। तर लगत्तै आमाको मुटुको चाल रोकिएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

चिकित्सकले भेन्टिलेटरसहितको हेलिकप्टरमार्फत उद्धार गर्न सुझाव दिएपछि उनले स्वास्थ्य, महिला बालबालिका तथा गृह मन्त्रालयमा सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सम्पर्क हुन सकेन।

पछि सभामुखको पहलमा मन्त्रीसम्म खबर पुगे पनि कानुनी जटिलता देखाइ सरकारी हेलिकप्टरबाट उद्धार गर्न नसकिने जवाफ पाइएको उनले बताए।

“त्यो क्षण मेरा लागि एउटै प्रश्न थियो- कानुन ठूलो कि एउटा नागरिकको जीवन?” सांसद महताले भने, “म एकजना संघीय सांसद भएर राज्यका निकायमा प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि समयमै हवाई उद्धार गराउन यति धेरै प्रक्रिया पार गर्नुपर्छ भने सामान्य नागरिकको अवस्था के होला?”

अन्ततः निजी क्षेत्रको हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिँदै उनले आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने पारदर्शी उद्धार प्रणाली बनाउन माग गरे।

यसैगरी, रास्वपाकी अर्की सांसद टिका संग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।

सार्वजनिक अडियोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले भनिन्, “कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भन्दै अत्यन्तै तल्लो स्तरको, धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ।”

ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्दै कानुन र चेन अफ कमान्डको धज्जी उडाएको उनले बताइन्।

“यो ‘स्वाट्टै हान्छु’ भनेको के हो? फोन हान्छु भनेको हो कि? भेटेर हान्छु भनेको हो कि? अथवा पद खान्छु भनेको हो?” भन्दै उनले प्रश्न गरिन्।

राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै धम्की आउनु गम्भीर चिन्ताको विषय भएको बताउँदै उनले यसले राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पुर्‍याएको उल्लेख गरिन्।

उनले दोषीमाथि कडा कारबाही गर्न र सीमा क्षेत्रमा सुरक्षा निकाय तथा राजस्व प्रशासनबीच मर्यादित वातावरण कायम गर्न सरकारसँग माग गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *