संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपतिको कडा धारणा
Iran's President Masoud Pezeshkian holds an image of late Iranian Supreme Leader Ayatollah Ali Khamenei during the 81st session of the United Nations General Assembly at United Nations headquarters, Wednesday, Sept. 23, 2026. (AP Photo/Stefan Jeremiah)
न्युयाेर्क। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको कडा आलोचना गरेका छन् । उनले इरानी जनता अमेरिकाको ‘आतंकवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि कुनै पनि प्रकारको बल प्रयोगको दबाब भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गरेका पेजेस्कियानले दिवंगत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिरहरू प्रदर्शन गरेका थिए ।
उनले इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै भने, “हामी आतंकवादी होइनौं। हाम्रा निर्दोष जनता कायरतापूर्ण आक्रमणको लक्ष्य बनेका छन् ।” अमेरिकातर्फ संकेत गर्दै उनले भने, “उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौं।”
पेजेस्कियानको यो सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने भनी चेतावनी दिएको पृष्ठभूमिमा आएको हो ।
यसैगरी, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम र आतंकवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारबाहीसहितका विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका छन् ।
यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई उनले ‘धेरै राम्रो बैठक’ भनेर बताएका थिए । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने त्यस्तो सम्पर्कमा कुनै नयाँ कुरा नभएको बताएका छन्।
अमेरिकासँगको सम्भावित वार्तालाई लिएर इरानभित्रै पनि गहिरो मतभेद देखिएको छ । केही नेताले विदेशमन्त्री अब्बास अराघचीको कडा आलोचना गरेका छन् ।
यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्था अघि बढाउनका लागि छ महिनाको अवधि तोकेर दुई अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ ।
उक्त योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ वटा परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षको अवधिमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।
उता, हर्मुज जलघाँटीमा बुधबार अर्को एउटा कार्गो जहाजमाथि अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ ।
यस घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र अन्ततः जहाज डुबेको जनाइएको छ । युद्धका कारण अति महत्त्वपूर्ण मानिने यस जलमार्गमा व्यावसायिक आवागमनसमेत नराम्ररी प्रभावित भएको छ ।
यसैबीच, कब्जामा रहेको वेस्ट ब्यांकमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते भएका छन् ।
इजरायली अधिकारीहरूका अनुसार एक प्यालेस्टिनी व्यक्तिले बेइट होरोन नजिकको सुरक्षा चौकीमा कार ठोक्काउँदा उनी घाइते भएका थिए । घटनापछि भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ ।
अर्कोतर्फ, इजरायलको निर्वाचन आयोगले अर्को महिना हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा उम्मेदवारलाई सहभागी हुन अयोग्य ठहर गर्ने पक्षमा मतदान गरेको छ
। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसहित दुई दक्षिणपन्थी दलको अनुरोधमा भएको उक्त निर्णयविरुद्ध रामका नेता मन्सुर अब्बासले सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् । अक्टोबर ७, २०२३ को हमास नेतृत्वको आक्रमणपछि इजरायलमा हुन लागेको यो नै पहिलो संसदीय निर्वाचन हुनेछ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment