पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण, तनाव झनै बढ्यो
काठमाडौं। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन तथा हवाई आक्रमण गरेको छ। अफगानिस्तानबाट आफ्नो भूभागमा भएको भनिएको ड्रोन आक्रमण प्रयासको जवाफमा यो कदम चालिएको इस्लामाबादले दाबी गरेको छ।
पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार, ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग भइरहेका स्थानहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। उनले ती प्रहारहरू सुनियोजित, सटीक, सीमित र पूर्ण रूपमा सैन्य लक्ष्यमा मात्र केन्द्रित रहेको बताएका छन्।
यसअघि पनि पाकिस्तानले अफगानिस्तानका कुनार र पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो, जसमा तीन सर्वसाधारणको मृत्यु हुनुका साथै चार जना घाइते भएको अफगान पक्षले जनाएको थियो।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानले नागरिक बस्तीलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई अपराधको पुनरावृत्ति भनेका छन्।
पाकिस्तानले आफ्नै आन्तरिक सुरक्षा समस्याबाट ध्यान मोड्न यस्तो कदम चालेको दाबी गर्दै उनले यसको ‘उचित जवाफ दिने’ चेतावनीसमेत दिएका छन्। स्थानीय टोलोन्युजका अनुसार यसअघि पनि पाकिस्तानी लडाकु विमानहरूले पक्तिकाको बर्माल र कुनारका विभिन्न क्षेत्रमा बमबारी गरेका थिए।
संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता नियोगका अनुसार, सन् २०२६ को अप्रिलदेखि जुनसम्मको अवधिमा मात्रै सीमापार सशस्त्र हिंसाबाट अफगानिस्तानमा ३९९ जना सर्वसाधारण प्रभावित भएका छन्।
यसक्रममा ५७ जनाको मृत्यु भएको छ भने ३४२ जना घाइते भएका छन्, जसमा ४० महिला र ११२ बालबालिका रहेका छन्। नियोगले उक्त अवधिमा भएका सीमापार नागरिक क्षतिको जिम्मेवार पाकिस्तानी सुरक्षा बल रहेको उल्लेख गरेको छ।
पछिल्ला दिनहरूमा पक्तिया, पक्तिका र कुनार प्रान्तमा भएका दिनहुँजसोका आक्रमणले दुई छिमेकी मुलुकबीचको सीमापार तनावलाई थप उत्कर्षमा पुर्याएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment