प्रस्तावित १३ देशका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

डिसी नेपाल
८ असोज २०८३ ११:०९

काठमाडौं। संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

सिंहदरबारस्थित समितिको सभाहलमा बिहीबार बिहान बसेको बैठकले गत शुक्रबार मन्त्रिपरिषद्द्वारा सिफारिस गरिएका प्रस्तावित राजदूतहरूबारे सर्वसाधारण तथा सरोकारवालाबाट उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

बैठकपछि समिति सभापति बोधनारायण श्रेष्ठले सरकारी सञ्चारमाध्यम तथा संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत १० दिनको समयसीमा तोकी सर्वसाधारणबाट उजुरी माग गर्ने निर्णय भएको जानकारी दिए।

समितिको आगामी बैठक असोज २० गते बिहान ११:१५ बजे बस्नेछ। उक्त बैठकमा प्राप्त उजुरीहरू खोलेर अध्ययन गरिने र त्यसपछि प्रस्तावित राजदूतहरूलाई क्रमैसँग संसदीय सुनुवाइका लागि आमन्त्रण गरिने कार्यसूची रहेको छ।

मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरेको थियो।

यसैगरी जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम प्रस्ताव गरिएको छ।

संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नामहरू अनुमोदन भएपछि सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाइनेछ।

सम्बन्धित देशबाट एग्रिमो प्राप्त भई आएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई औपचारिक रूपमा राजदूत पदमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *