देशभरका ६४ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

डिसी नेपाल
८ असोज २०८३ ११:२५

काठमाडौं। मनसुनी वायुका साथै बङ्गालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणालीको प्रभावले देशैभर लगातार वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान विभागअन्तर्गतको ‘नेपाल बाढी सूचना’ले ६४ भन्दा बढी जिल्लाका स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको चेतावनी दिएको छ।

लगातारको झरीका कारण खोलानालामा पानीको बहाव तीव्र गतिमा बढेकाले नदी तटीय तथा भिरालो भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा यस आसपासका जिल्ला भई बहने स-साना नदी र खहरे खोलाहरूमा पानीको सतह निकै माथि आउने सम्भावना छ। यी ६ जिल्ला र आसपासका क्षेत्रलाई बाढी सूचनाले ‘आकस्मिक बाढीको उच्च जोखिम’ मा राखेको छ।

त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ५८ भन्दा बढी जिल्लाहरूलाई ‘आकस्मिक बाढीको मध्यम जोखिम’  श्रेणीमा राखिएको छ।

मध्यम जोखिममा रहेका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट रहेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा ‘अति भारी वर्षा’ को समेत सम्भावना रहेकाले सहरी क्षेत्रमा डुबान र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम थप बढेको छ। जोखिमपूर्ण स्थिति पैदा भएपछि पोखरा र विराटनगरसहितका केही स्थानीय तहले विद्यालयहरूसमेत बन्द गरिसकेका छन्।

बाढी पूर्वानुमान महाशाखाले होचो भूभाग, नदी किनारका बस्ती तथा निर्माणाधीन पूर्वाधार नजिक बसोबास गर्ने सर्वसाधारणलाई २४ सै घण्टा सजग रहन, अनावश्यक यात्रा नगर्न र मोबाइलमा आउने बाढीसम्बन्धी एसएमएस/अपडेटहरू नियमित हेर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *