बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पहिरो: काठमाडौंमा फोहोर संकलन प्रभावित

डिसी नेपाल
९ असोज २०८३ १२:५०

काठमाडौं। लगातारको अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन कार्य गम्भीर रूपमा प्रभावित भएको छ।

काठमाडौँ महानगरपालिकाले फोहोर संकलन तथा ढुवानी केही समयका लागि प्रभावित हुने जनाउँदै नगरवासीलाई आफ्नो घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर बाहिर ननिकाल्न अपिल गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर विसर्जन गरिने सिसडोल तथा बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर व्यवस्थापनमा प्राविधिक एवं प्राकृतिक कठिनाइ उत्पन्न भएको जनाएको हो।

सडकमा लेदो र माटो थुप्रिएका कारण फोहोर बोकेका सवारीसाधनहरू ल्यान्डफिल साइटसम्म पुग्न र फोहोर खन्याउन नसक्ने अवस्था सिर्जना भएको छ। जसका कारण नियमित रूपमा हुँदै आएको फोहोर संकलन तथा ढुवानी प्रक्रिया केही समयका लागि रोकिएको महानगरले स्पष्ट पारेको छ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “आफ्नो घर, पसल, व्यवसाय वा कम्पाउन्डबाट निस्कने कुनै पनि प्रकारको फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान वा खोलानालामा नफाल्न कडा आग्रह गरिन्छ। फोहोर संकलन कार्य पुनः सुचारु नहुन्जेलसम्म सम्पूर्ण फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गरेर राखिदिनुहुन अनुरोध छ।”

यसका साथै, दुर्गन्ध फैलिन नदिन र फोहोरको दीर्घकालीन व्यवस्थापन सहज बनाउन कुहिने (जैविक) र नकुहिने फोहोरलाई अनिवार्य रूपमा छुट्टाछुट्टै भाँडोमा वर्गिकरण गरेर राख्नसमेत आग्रह गरिएको छ।

सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा वर्षाको पानीले ढल तथा नाला थोगिएर सडक जलमग्न हुने र डुबानको जोखिम अझ बढ्ने भएकाले यस संवेदनशील घडीमा विशेष सावधानी र नागरिक दायित्व निभाउन काठमाडौँ महानगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *