अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप खिच्दै
काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बिहीबार) पुनः २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्न लागिएको हो। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुन इच्छुक संस्थाहरूले बिहीबार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम’ मार्फत आवेदन दिनुपर्नेछ।
निक्षेप संकलन उपकरणमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको सीमाअनुसार २० अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्नेछन्। यद्यपि, बोलकबोल रकम १० करोड रुपैयाँले निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने सर्त राखिएको छ।
३२ दिनको समयावधि रहने यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी कात्तिक ९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा तरलताको मात्रा बढेसँगै राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गरी बजारबाट रकम खिच्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment