श्वास परीक्षणबाट फोक्सोको क्यान्सरयुक्त नोड्युल पहिचानमा सफलता

डिसी नेपाल
९ असोज २०८३ १८:४२

सिड्नी। साधारण श्वास (साँस) परीक्षणबाटै फोक्सोमा रहेका नोड्युल क्यान्सरयुक्त हुन् वा होइनन् भनेर छुट्याउन सकिने अस्ट्रेलियाली अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ।

यस प्रविधिले फोक्सोको क्यान्सरको सुरुआती चरणमै पहिचान गर्न सहयोग पुग्नुका साथै बिरामीहरूले भोग्नुपर्ने कष्टकर र आक्रामक (इन्भेसिभ) परीक्षणको आवश्यकतालाई कम गर्ने आशा जगाएको छ।

ग्रिफिथ विश्वविद्यालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार अनुसन्धानकर्ताहरूले दुई पूरक प्रविधिमार्फत बिरामीको श्वासको विश्लेषण गरेका थिए। जसमा ‘इलेक्ट्रोनिक नोज’ (ईनोज) ले श्वासमा रहेका रसायनका ढाँचा पहिचान गर्छ भने ‘ग्यास क्रोमाटोग्राफी-मास स्पेक्ट्रोमेट्री’ ले श्वासमा रहेका विशिष्ट वाष्पशील जैविक यौगिकहरूको पहिचान गर्दछ।

ग्रिफिथ विश्वविद्यालयकी प्राध्यापक चामिन्डी पुन्यादीराका अनुसार यी प्रविधिहरूले हाल प्रचलित सामान्य चिकित्सकीय विधिको तुलनामा क्यान्सरयुक्त र क्यान्सररहित नोड्युल छुट्याउन निकै उत्कृष्ट नतिजा देखाएका छन्। हाल फोक्सोको नोड्युल परीक्षणका लागि सीटी-निर्देशित बायोप्सी, ब्रोन्कोस्कोपी वा शल्यक्रियाजस्ता आक्रामक प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ।

विश्वभर वार्षिक करिब २५ लाख मानिसमा फोक्सोको क्यान्सर पहिचान हुने गरेको छ। सहलेखक झाङ सीका अनुसार ससाना वा अप्ठ्यारो ठाउँमा रहेका नोड्युलको बायोप्सी गर्दा फोक्सो खुम्चिनेजस्ता जटिलताको जोखिम हुन्छ।

श्वास परीक्षणले बायोप्सीलाई पूर्ण रूपमा विस्थापित नगरे पनि कुन बिरामीलाई तत्काल थप परीक्षण वा उपचार आवश्यक छ भन्ने निर्णय लिन चिकित्सकहरूलाई ठूलो सहयोग पुर्‍याउनेछ। गैरआक्रामक विधि अपनाइँदा क्यान्सररहित नोड्युल भएका बिरामीहरू अनावश्यक शल्यक्रिया र दुखाइबाट जोगिने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *