हर्मुज खुल्ने संकेत, अडानबाट पछि हट्न इरान तयार
काठमाडौं । करिब सात महिनादेखि जारी अमेरिका-इरान द्वन्द्व र तनावका बिच होर्मुज स्ट्रेट (होर्मुज जलडमरूमध्य) सबैभन्दा ठूलो सम्झौताको विषय बनेको छ।
इरानले यो जलमार्ग खुला गराउने बदलामा अमेरिकाबाट आर्थिक नाकाबन्दी हटाउन माग गरिरहेको छ भने अमेरिका यो महत्त्वपूर्ण समुद्री बाटोबाट जहाजहरूको आवतजावत पुनः सुरु होस् भन्ने चाहन्छ।
इरानले त्यहाँबाट गुज्रिने जहाजहरूसँग शुल्क (ट्रान्जिट फी) असुल गर्ने योजना पहिले नै बनाइसकेको छ। अब इरानले शुल्कको यस मुद्दामा सम्झौता गर्न तयार रहेको तर होर्मुजमाथि आफ्नो नियन्त्रण कायम राख्न चाहेको बताएको छ।
इरानी, क्षेत्रीय र पश्चिमी अधिकारीहरूका अनुसार वार्तामा चरणबद्ध सम्झौताको बाटो खोजी भइरहेको छ। एक वरिष्ठ इरानी अधिकारीले यो सङ्कटलाई चरणबद्ध रूपमा अन्त्य गर्न सकिने बताएका छन्।
जसअनुसार पहिले अमेरिकाले नाकाबन्दी अन्त्य गर्ने र त्यसपछि होर्मुज स्ट्रेटलाई पुनः खोलिनेछ। इरानलाई रोक्का गरिएका (फ्रिज) कोषहरूमा पहुँच प्राप्त हुने सम्भावना पनि यस सम्झौताको हिस्सा हुन सक्छ।
यद्यपि, सबैभन्दा ठूलो चुनौती भनेको दुवै पक्ष सुरुमै आफ्नो शक्ति वा पकड छाड्न तयार नहुनु हो। अमेरिकाले इरानको अर्थतन्त्रमाथि दबाब बनाइराखेको छ भने इरानसँग होर्मुज स्ट्रेटमार्फत विश्वको महत्त्वपूर्ण तेल मार्गमा दबाब सिर्जना गर्ने विकल्प रहेको छ। यस्तो स्थितिमा दुवै देश आफ्ना अडानका बदलामा केही ठोस उपलब्धि हासिल गर्न चाहन्छन्।
यदि अमेरिकाले सैन्य दबाब कम गर्छ र आफ्ना बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी हटाउँछ भने एक हप्ताभित्रै होर्मुज स्ट्रेट खोल्न सकिने इरानले यसअघि नै बताइसकेको छ। यो प्रस्ताव मध्यस्थकर्ताहरू भई अमेरिकासम्म पुर्याइएको थियो। अब इरानले यसमा थप लचिलापन देखाएको छ।
रोयटर्सको रिपोर्ट अनुसार, इरानले होर्मुज स्ट्रेटबाट गुज्रिनका लागि ट्रान्जिट शुल्क लिने आफ्नो मागलाई मुख्य सम्झौताबाट हटाएर छुट्टै दस्तावेजमा राख्न सहमति जनाएको छ, किनकि अहिले उसको प्राथमिकता नाकाबन्दी अन्त्य गर्नु हो।
यद्यपि, खाडी मुलुकहरूले ट्रान्जिट शुल्क तिर्ने यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन्। स्रोतहरूका अनुसार कुनै सम्झौता भइहाले पनि त्यो अस्थायी प्रकृतिको हुनेछ र यसको अर्थ इरानले ट्रान्जिट शुल्कको अडान पूर्ण रूपमा छाडिसकेको भन्ने हुनेछैन। अ
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को मध्यावधि (मिडटर्म) निर्वाचनपछि अमेरिका र इरानबिच सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। अर्कातिर अमेरिकी प्रशासनले भने इरानमाथि भारी दबाब रहेको र वासिङ्टनले आफ्ना सर्तहरूका आधारमा निर्णय लिने बताएको छ।
होर्मुज स्ट्रेट विश्वका सबैभन्दा महत्त्वपूर्ण तेल र ग्यास सिपिङ मार्गहरूमध्ये एक हो। यो बन्द हुनाले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो दबाब परेको छ। अहिले अमेरिका र इरानबिचको वार्तामा यही जलमार्गलाई लिएर सम्झौताको सम्भावना अघि आएपछि अन्तर्राष्ट्रिय बजारको नजर पनि यी वार्ताहरूमै टिकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment