इरानमा जुम्ल्याहा दिदीबहिनीमध्ये एउटीलाई मृत्युदण्ड, अर्कीलाई २७ वर्ष जेल

डिसी नेपाल
९ असोज २०८३ १५:३९

काठमाडौं । इरानको इसफाहान शहरकी दुई जुम्ल्याहा दिदीबहिनी तरादेह र रोमिना रहिमीको कथा बाहिर आएको छ, जसले विश्वभरको ध्यान खिचेको छ। जनवरीमा जब इरानमा सरकारविरोधी प्रदर्शनहरू भए, तब १९ वर्षका यी दुई छात्रा पनि त्यसमा सहभागी भएका थिए। त्यसको केही दिनपछि नै मुखौटा लगाएका मानिसहरूले उनीहरूलाई घरबाटै उठाएर लगेका थिए। पछि ती मानिसहरू इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सदस्य भएको खुल्यो।

चार महिनासम्म उनीहरूकी आमा मर्जिया नुरमोहम्मदीले आफ्ना छोरीहरूको खोजीमा अस्पताल, सरकारी कार्यालय र जेलहरू धाइरहिन्। अब यो मामला अझ गम्भीर बनेको छ। तारानेहलाई मृत्युदण्डको सजाय सुनाइएको छ भने रोमिनालाई २७ वर्षको जेल सजाय दिइएको छ। परिवारले पुनरावेदन गर्दै अब संयुक्त राष्ट्रसङ्घसँग सहयोगको गुहार मागेको छ।

घटनाको सुरुवात जनवरीमा भएको थियो, जब इसफाहानको शोहदा चोक आसपास ठूलो मात्रामा प्रदर्शनहरू भएका थिए। ती प्रदर्शनहरूमा तारानेह र रोमिना पनि सहभागी भए, यद्यपि यसअघि उनीहरू कहिल्यै कुनै प्रदर्शनमा गएका थिएनन्। त्यसक्रममा चोकमा दुई जनाको मृत्यु भयो, जसमा एक रिभोलुसनरी गार्डका सदस्य र एक जना घरबारविहीन व्यक्ति थिए।

त्यसपछि दुवै दिदीबहिनीसहित १६ जनालाई पक्राउ गरियो। उनीहरूमाथि मोलोटोभ ककटेल बनाएको र सुरक्षाबलमाथि आक्रमण गरेको अभियोग लगाइयो। साथै उनीहरूमाथि “ईश्वरविरुद्धको युद्ध” अर्थात् ‘मोहारेबेह’ को अभियोग पनि लगाइयो, जुन इरानमा मृत्युदण्ड दिइने अपराध मानिन्छ। दुवै दिदीबहिनीविरुद्ध कुनै प्रमाण नरहेको र उनीहरूका वकिलहरूलाई मुद्दाको फाइलसमेत राम्ररी हेर्न नदिइएको परिवारको भनाइ छ।

गिरफ्तारीपछि दुवै दिदीबहिनीलाई अलग-अलग कोठा (सेल) मा राखिएको थियो, तर उनीहरू एक-अर्काको चिच्याहट सुन्न सक्थे। परिवार र वकिलहरूका अनुसार उनीहरूलाई निर्घात कुटपिट गरियो, मानसिक रूपमा यातना दिइयो र यौन उत्पीडन पनि गरियो। तारानेहलाई विशेष गरी गम्भीर चोट लागेको थियो; उनका घुँडा, कुहिनो र हातमा लट्ठीले हानिएको थियो। मे महिनामा जब आमालाई छोरीहरूसँग भेट्न दिइयो, उनले उनीहरूलाई चिन्नसमेत सकिनन्; केवल आवाजका आधारमा मात्र पहिचान गर्न सकिन्। दुवैका अनुहार सुन्निएका थिए र टाउकाको कपाल पनि उखेलिएको थियो।

तारानेहको फाँसी रोक्नका लागि परिवारले अब बेलायतका मानवअधिकार वकिलहरूमार्फत संयुक्त राष्ट्रसङ्घमा औपचारिक उजुरी दर्ता गराएको छ। तारानेह घोडचढीको सौखिन थिइन् र आफ्नै घोडचढी केन्द्र खोल्न चाहन्थिन् भने रोमिनाको रुचि फेसनमा थियो। दुवै जना एउटा जुत्ता पसलमा आंशिक समय (पार्ट टाइम) काम पनि गर्थे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *