हिमालय एयरलाइन्सद्वारा काठमाडौं-सांघाई-काठमाडौं मार्गमा पुनः सीधा उडान सुरु
काठमाडौं। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल, सांघाईबीच आगामी सोमबार, सेप्टेम्बर २८ देखि नियमित सीधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं-साङ्घाई–काठमाडौँ मार्गमा नियमित सीधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्नेछ। यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक साङ्घाईबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण हवाई सम्पर्क पुनः स्थापित हुनेछ।
यो उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो सहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र साङ्घाईबीच सहज र सीधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ।
यसले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ। साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
नेपालको मुख्य पर्यटन सिजनको सुरुआतसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्त्वलाई थप बढाउनेछ। यस रुटले चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रारम्भिक चरणमा हिमालय एयरलाइन्सले यस रुटमा साताको दुई उडान सञ्चालन गर्नेछ। काठमाडौँबाट साङ्घाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार साँझ १८:२५ मा प्रस्थान गरी भोलिपल्ट बिहान ०२:०० बजे साङ्घाई पुग्नेछन्। त्यसैगरी साङ्घाईबाट काठमाडौँ फर्कने उडानहरू हरेक मंगलबार र शनिबार बिहान ०३:०० बजे प्रस्थान गरी बिहान ०७:१० बजे काठमाडौँ अवतरण हुनेछन्।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं-साङ्घाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालन हुन लागेको बारे जानकारी दिँदै हिमालय एयरलाइन्स नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन तत्पर रहेको बताएका छन्।
यस उडानले दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने एयरलाइन्सको उद्देश्यलाई प्रोत्साहन गर्ने उनले उल्लेख गरे। यस रुटमार्फत हिमालय एयरलाइन्सले यात्रुलाई अविस्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्चतम मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ।
हिमालय एयरलाइन्सबाट यात्रा गर्न चाहने यात्रुहरूले एयरलाइन्सका काउन्टरहरू, आधिकारिक ट्राभल पार्टनरहरू, आधिकारिक वेबसाइट तथा हिमालय एयरलाइन्सको मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment