देशभर सडक यातायात प्रभावित: रसुवागढी नाका जोड्ने राजमार्ग बन्द, यी हुन् बन्द रहेका सडक
काठमाडौं। अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरोका कारण नुवाकोटको टोखा–छहरे सडकखण्डमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल प्रहरीले जारी गरेको विशेष बुलेटिनअनुसार भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म सो सडकखण्डमा आवतजावत बन्द गरिएको हो।
अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनलाई उक्त समयमा आवतजावत गर्न रोक लगाइएको बुलेटिनमा उल्लेख छ।
रसुवाको पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
त्यस्तै, त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जोड्ने मुख्य पासाङल्हामु राजमार्ग बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार स्याफ्रुबेँसीसम्म पुग्नका लागि काठमाडौं-टोखा-छहरे-विदुर-नुवाकोट दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पाच्र्याङ-भोर्ले शून्य किमि-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
त्यसैगरी सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत जिल्लाका भित्री सडकहरूमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन तथा पैदलयात्रुको आवागमनमा रोक लगाइएको छ।
दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट, भालुवाङ-चकचके सडकखण्डको भालुवाङ-गनाहा खोला, सहिद मार्गअन्तर्गत घोराही-होलेरी, घोराही-मुर्कुटी तथा तुलसीपुर-सुर्खेत सडकखण्डको तुलसीपुर-कालीमाटी क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको प्रहरी बुलेटिनमा उल्लेख छ।
रोल्पामा भारी वर्षाको उच्च सम्भावनालाई मध्यनजर गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका-७ माडीचौर क्षेत्रमा असोज ८ गतेदेखि १२ गतेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीर, वडा नं १० टिङराङखानी तथा गजुरी गाउँपालिका-२ परेवाभीरमा अविरल वर्षाका कारण ठूलो ढुङ्गासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।
भोजपुरमा साँझ ६ बजेदेखि भित्री तथा सहायक सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। मध्यपहाडी लोकमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारी, एम्बुलेन्स, दमकल तथा खाद्यान्न बोकेका सवारी साधनहरूलाई नजिकको प्रहरी एकाइसँग समन्वय गरी मात्र सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
मनाङमा बेँसीसहर हुँदै खाङसार तथा लमजुङको सीमादेखि खाङसारसम्म राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। मनाङको नासों गाउँपालिका-३ खोत्रोमा अविरल वर्षाका कारण सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि चामे-बेँसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।
बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा समेत पहिरोको जोखिमका कारण आवतजावतमा समय निर्धारण गरिएको छ। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खसिरहेका कारण सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ। धादिङमा पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
मकवानपुरको कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै आवागमनको व्यवस्था मिलाइएको छ भने भैँसे-भीमफेदी–देउराली-कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा समेत तोकिएको समयभित्र मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।
सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। दोलखामा असोज ८ देखि १० गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकहरूमा आवागमन रोकिएको छ।
काभ्रेमा बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनहरूलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका-७ चारसयबेँसी र रोशी-८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म अरनिको राजमार्गमा आवागमन रोक लगाइएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सीमामा पर्ने भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकमा क्षति पुर्याएपछि सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध भएको छ।
सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूले मौसम पूर्वानुमानअनुसार सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवागमनमा रोक लगाएका हुन्।
नेपाल प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment