मनसुनी जोखिमबाट जोगाउन पूर्वतयारी बढाउन र जटिल कानुनी प्रक्रिया फुकाउन संसद्मा माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यको प्रभावकारी योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद रेग्मीले नयाँ मनसुनी प्रणालीको प्रभाव बढ्ने आकलन गरेर सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेर मात्रै नागरिकको जीउधनको सुरक्षा हुन नसक्ने बताए।
“नागरिकलाई घरमै बस्नु भन्ने सन्देशसँगै घरवरपरको जमिन सुरक्षित छ वा छैन भनेर हेर्नुहोस् भन्ने सन्देश पनि जनतासामु पुर्याउन अति जरुरी छ,” उनले भने, “पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले जमिनमा नयाँ चिरा परेको, धसिएको वा फुलेको छ कि, अनि नयाँ ठाउँमा पानीको मूल फुटेको छ कि भनेर विशेष ध्यान दिन जरुरी छ। पहिरोका यस्ता पूर्वसंकेत देखिएमा घरमै बसिरहनुभन्दा समयमै सुरक्षित स्थानमा सर्नुपर्छ।”
सांसद रेग्मीले आगामी केही दिन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाढीको चेतावनीसँगै पहिरोका यस्ता पूर्वसंकेतबारे सरल भाषामा सूचना व्यापक रूपमा फैलाउन सरकारको ध्यानाकर्षण गराए।
यसैगरी, सोही बैठकमा रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले आपत्कालीन स्वास्थ्य उद्धारसँग सम्बन्धित विद्यमान कानुन र आवश्यक प्रक्रियागत व्यवस्थाको तत्काल पुनरावलोकन गरी प्रत्येक नागरिकको आकस्मिक समयमा उपचार पाउने मौलिक हकको सुनिश्चितता गर्न माग गरे।
त्यस्तै, रास्वपाकै सांसद टीका संग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई पदीय मर्यादाको दुरुपयोग गर्दै धम्क्याएको र थर्काएको विषयप्रति आपत्ति जनाइन्।
उनले राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पुर्याउने सो घटनासँग सम्बन्धित ‘अडियो’ सामग्रीको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment