कास्कीमा भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता: रात्रिकालीन सवारी, पदयात्रा र जल पर्यटन गतिविधि बन्द

डिसी नेपाल
८ असोज २०८३ १२:०८

पोखर। जल तथा मौसम विज्ञान विभागले कास्कीसहित देशका विभिन्न भू-भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान जारी गरेसँगै सम्भावित विपद्जन्य घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि कास्की जिल्लामा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालन, पर्यटकीय गतिविधि, शैक्षिक संस्था र उद्धार तयारीबारे विभिन्न निर्णयहरू गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने र जिल्ला भित्रिने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। त्यसैगरी, जिल्लाका ग्रामीण भेगका सडकहरूमा दिउँसो ४ बजेपछि सवारीसाधन सञ्चालन नगर्न र नगराउन आग्रह गरिएको छ।

जोखिमको सम्भावनालाई मध्यनजर गर्दै कास्कीका विभिन्न पर्यटकीय क्षेत्रमा हुने पदयात्रा गतिविधिमा पूर्ण रोक लगाइएको छ। हाल पदयात्रामा गएका पर्यटक तथा सहयोगीहरूलाई सुरक्षित स्थानमा फर्काउन वा सुरक्षित रहनका लागि सम्बन्धित पर्यटन व्यवसायी तथा संस्थाहरूमार्फत सूचित गर्ने निर्णयसमेत गरिएको छ।

त्यसैगरी, फेवाताल, बेगनासताललगायत प्रमुख तालतलैयाहरूमा सञ्चालन हुने बोटिङसहितका जल पर्यटनसम्बद्ध गतिविधिहरूमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न भनिएको छ। मौसम प्रतिकूल बनेको अवस्थामा तालतलैयामा हुने सबै साहसिक तथा जल पर्यटन गतिविधिहरू तत्कालका लागि स्थगन गरिने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना कायमै रहेकाले नदी तथा खोलाका तटीय क्षेत्रमा नजान, अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र कुनै पनि विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह र स्थानीय प्रशासनलाई खबर गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

स्थानीय तहहरूलाई नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीहरूमा पूर्वसूचना प्रवाह गर्न, आवश्यक परेका खण्डमा स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन र परिस्थिति मूल्यांकन गरी विद्यालयहरू बन्द गर्नेसम्मको निर्णय लिन निर्देशन दिइएको छ।

विपद्पछिको उद्धार, राहत तथा उपचारका लागि जिल्लास्थित अस्पताल, स्वास्थ्य संस्था, रेडक्रसलगायतका निकायहरूलाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै, आकस्मिक उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थाहरूलाई समेत तयारी अवस्थामा रहन जिल्ला विपद् समितिले आग्रह गरेको छ।

मौसम विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा बिहीबारदेखि आइतबारसम्म मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *