भारी वर्षा र बाढीको जोखिम: कृषि विभाग र जिल्ला प्रशासनहरूद्वारा उच्च सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
९ असोज २०८३ ६:५३

काठमाडौं। देशका विभिन्न भूभागमा हुरीबताससहित भारी वर्षाको सम्भावना देखिएपछि कृषि विभाग तथा विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले कृषि बाली र नदी तटीय बस्तीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

असोज ११ गतेसम्म अतिभारी वर्षा हुनसक्ने मौसमी पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सचेतना अभियानलाई तीव्र पारिएको छ।

कृषि विभागले पाकेको धान केही दिन परिपक्व भएपछि मात्र काट्न, काटिसकेको धान हावा खेल्ने ठाउँमा राख्न र खेतमा पानी निकासको प्रबन्ध मिलाउन किसानहरूलाई अनुरोध गरेको छ।

त्यसैगरी उच्च पहाडी क्षेत्रमा मकै भाँचेर ओतमा फिजाउन तथा पशुपन्छीका गोठ र खोरका छाना बलियो गरी बाँध्न एवं पशुचौपायालाई अग्लो स्थानमा सार्न कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले सूचित गरेको छ।

झापा, कञ्चनपुर, दाङ र बागलुङका नदी तथा खोला किनारका बस्तीहरूमा सुरक्षा निकाय र स्थानीय तहहरूले माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिरहेका छन्।

कञ्चनपुरको महाकाली र दोदा नदी तटीय क्षेत्र तथा बागलुङको कालीगण्डकी किनारका १४० भन्दा बढी जोखिमयुक्त घरपरिवारलाई सुरक्षित रहन आग्रह गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिका र बागलुङ नगरपालिकाका विद्यालयहरूमा बिदा दिइएको छ।

सम्भावित बाढी, पहिरो र डुबानको जोखिम सम्बोधन गर्न झापामा सशस्त्र प्रहरीले मेची, कनकाई र रतुवा खोला वरपर नियमित निगरानी बढाएको छ भने दाङको तुलसीपुर उपमहानगरपालिकाले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सक्रिय बनाएर एकीकृत द्रुत प्रतिकार्य टोली गठन गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनका आधारमा सम्बन्धित विपद् व्यवस्थापन समितिहरूले नदी किनारका बासिन्दालाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहन अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *