बाढी-पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारको पूर्वतयारी, परीक्षा स्थगित र कर्मचारी बिदामा रोक

डिसी नेपाल
८ असोज २०८३ २१:०३

काठमाडौं। देशभर जारी लगातारको वर्षाका कारण सिर्जित सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट धनजनको क्षति हुन नदिन सरकारले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि दिएको निर्देशनअनुसार कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे विशेष छलफल गरेका छन्।

छलफलका क्रममा सम्पूर्ण मन्त्रालय र तिनका मातहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिँदै कार्यवाहक प्रधानमन्त्री वाग्लेले स्थानीय तहहरूलाई विपद् प्रतिकार्यका लागि आफ्नो स्रोत-साधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरेका छन्।

विपद्को जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै सुरक्षा समितिमार्फत सेना, प्रहरी र सशस्त्र प्रहरीलाई हाइअलर्टमा राखेको छ। नदी तटीय क्षेत्रमा माइकिङ गरी सचेत गराउने र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

पूर्वाधार तथा यातायात क्षेत्रमा सम्भावित अवरोध हटाउन पूर्वाधार विकास मन्त्रालयले पहिरो प्रभावित सडकखण्ड नजिक डोजर तथा एक्स्काभेटर जस्ता उपकरण २४ सै घण्टा तयारी अवस्थामा राखेको छ भने रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको छ।

पर्यटन मन्त्रालयले आन्तरिक उडानको सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउँदै उद्धार उडानलाई प्राथमिकता दिन र पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षाहरू स्थगित गर्दै स्थानीय तहको समन्वयमा विद्यालय बिदा दिन सकिने र सुरक्षित भवनहरूलाई अस्थायी आश्रयस्थल बनाउन सहजीकरण गरेको छ।

यस्तै, संकटको यो समयमा नागरिक सेवा सहज बनाउन भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीहरूलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई अनिवार्य रूपमा सम्पर्कमा रहन भनेको छ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि र एम्बुलेन्स सेवा २४ सै घण्टा खुला राखिएको छ भने खाद्यान्न र इन्धनको अभाव हुन नदिन आपूर्ति व्यवस्था मिलाउँदै बजार अनुगमन तीव्र पारिएको छ।

जल तथा मौसम विज्ञान विभागले प्रमुख नदीहरूमा ५ दिन र साना नदीहरूमा ४८ घण्टा अगावै बाढीको पूर्वसूचना पाउने व्यवस्था मिलाएको छ। नागरिकले आपत्कालीन अवस्थामा जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *