२४ वर्षपछि काठमाडौंमा सम्यक् महादान, ३०१ सदस्यीय मूल समारोह समिति गठन

डिसी नेपाल
८ असोज २०८३ २१:११

काठमाडौं। काठमाडौं महानगरपालिकाले २४ वर्षदेखि आयोजना हुन नसकेको सम्यक् महादान आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा आयोजना गर्ने भएको छ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै प्राचीन बौद्ध परम्पराअन्तर्गतको सम्यक् महादान समुदायसँगको सहकार्यमा पुनः आयोजना गर्न लागिएको जनाएको हो। हरेक १२ वर्षमा आयोजना हुनुपर्ने यो महादान काठमाडौंमा विसं २०५१ पछि हुन सकेको छैन।

महादानको तयारीका लागि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय ‘सम्यक् महादान मूल समारोह समिति ने.सं. ११४६–४७ (वि.सं. २०८३)’ घोषणा गरिएको छ।

समितिको संयोजकमा प्राडा नरेशमान बज्राचार्य रहेका छन्। समितिमा पाँच जना सहसंयोजक र ३७ जना पदाधिकारी छन्।

कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न ३७ सदस्यीय निर्णय कार्यान्वयन समिति र विषयगत कार्यका लागि १३ वटा उपसमितिसमेत गठन गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार मुख्य दुई दिन मनाइने सम्यक् महादानको पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा उत्सव मनाउने परम्परा छ।

बौद्ध धर्ममा दानलाई महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ। सम्यक् महादानका अवसरमा काठमाडौंका दीपङ्कर बुद्धका मूर्तिहरूसहित प्रमुख बौद्ध मन्दिरका देवीदेवतालाई एकै स्थानमा विराजमान गराई पूजापाठ तथा दानदक्षिणा अर्पण गर्ने परम्परा रहेको छ।

महादानमा राष्ट्रप्रमुखको उपस्थिति रहने तथा नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षुलगायत बौद्ध संघका सदस्यलाई दान अर्पण गर्ने परम्परा छ। ठूलो खर्च, श्रम र स्रोतसाधन आवश्यक पर्ने भएकाले यसको आयोजना कठिन हुँदै आएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले सम्यक् महादानलाई काठमाडौंको सांस्कृतिक पहिचान तथा उपत्यकावासीको सामूहिक सहकार्यको प्रतीकका रूपमा उल्लेख गरेको छ। नियमित रूपमा आयोजना हुन नसकेको अमूर्त सांस्कृतिक सम्पदाको यस जीवन्त परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यले महादान आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

महानगरपालिकाले सम्यक् महादानका अवसरमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको दुःख निवारण र दिवंगतहरूको सुगतिको कामनासमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *