भारी वर्षापछि उच्च सतर्कतामा, उद्धारदेखि आपूर्तिसम्म तयारी
काठमाडौं। देशभर भइरहेको भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र अन्य विपद्जन्य जोखिमबाट नागरिकको धनजन जोगाउन सरकारले उच्च सतर्कताका साथ पूर्वतयारी तथा प्रतिकार्य अघि बढाएको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिका प्रस्थान गर्नुअघि आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र निकायहरू परिचालन गरिएको बताइएको छ।
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको बताएका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ भने नदी तटीय क्षेत्रमा माइकिङ, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ।
सरकारले विद्यालय, स्वास्थ्य, पर्यटन, खाद्यान्न तथा इन्धन आपूर्ति र सडक सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ। असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न सकिने, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने, अस्पतालमा जनशक्ति, औषधि र एम्बुलेन्स २४ घण्टा तयारी अवस्थामा राख्ने तथा खाद्यान्न र इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। जोखिमयुक्त सडकखण्डमा भारी उपकरण परिचालन गरी रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको जनाइएको छ।
यस्तै, प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टा अगावै बाढी पूर्वसूचना दिने व्यवस्था गरिएको छ। विद्युत् अवरुद्ध भए तत्काल सेवा सञ्चालनका लागि कर्मचारी तयारी अवस्थामा राखिएको छ भने किसानका लागि विशेष कृषि मौसम सल्लाह जारी भइरहेको छ।
असोज ११ गतेसम्म स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिइएको छ। आपत्कालीन अवस्थामा मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, जिल्ला आपत्कालीन केन्द्र १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment