प्रतिकूल मौसम र विपद्को जोखिम बढेपछि दैलेखमा प्रहरीको माइकिङ: सुरक्षित स्थानमा जान आग्रह
सुर्खेत। प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूमा माइकिङ सुरु गरेको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत बिहीबार जिल्लाका सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे जानकारी गराइएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिकाका तल्लो डुङ्गेश्वर, धरमपोखरा र घोडाबास, ठाटीकाँध गाउँपालिकाको ठाटीकाँध बजार, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको पाल्तडा बजार तथा दुल्लु नगरपालिकाको बिनायकमा प्रहरी टोली परिचालन गरी सचेतनामूलक माइकिङ गरिएको थियो।
प्रहरीले बाढी, पहिरो र डुबान जस्ता विपद्को पूर्वसूचना प्राप्त हुनासाथ तुरुन्त सुरक्षित स्थानतर्फ जान र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोला किनार, भिरालो जमिन र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सचेत गराइएको छ।
साथै, आपत्कालीन अवस्थामा अफवाहको पछि नलागी सुरक्षा निकायको आधिकारिक सूचना पालना गर्न र तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। प्रहरीले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जोखिमको अवस्था हेरेर जिल्लाका अन्य स्थानहरूमा पनि माइकिङ तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment