नारायणी र दरमखोलामा बाढीको त्रास: जलसतहले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कताको अपिल
तस्विर : एआई
काठमाडाैं। नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेपछि त्यस आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा नदीको जलसतह चेतावनीको विन्दुभन्दा माथि पुगेको छ।
आज बिहान ६:५० बजेको मापन अनुसार दुवै नदीमा जलसतह निरन्तर बढ्दो क्रममा रहेको छ। नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा, नदी किनार आसपासका बस्ती र विगतमा डुबानमा पर्ने गरेका क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले आज बेलुकीसम्म नै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र जोखिमयुक्त स्थानबाट टाढै रहन नागरिकहरूलाई आग्रह गरेको छ। साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका नागरिकलाई नदी किनारमा नजान, माछा नमार्न र दाउरा सङ्कलन जस्ता जोखिमपूर्ण काम नगर्न समेत सूचित गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment