अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्बिर, आफन्तको पर्खाइ उस्तै

डिसी नेपाल
१० असोज २०८३ १७:०४

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटा अहिले धमिलिँदै गएका छन्। तर, ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ भने एक महीनापछि पनि उस्तै छ।

गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा आफन्तले अस्पतालको भित्तामा आफ्ना परिवारका सदस्य तथा आफन्तका तस्वीर टाँसेका थिए। बाढी आएको एक महीना बितिसक्दा तस्वीरका मसी र अक्षरहरू विस्तारै मेटिन थालेका छन्। तर कुन तस्वीरसँग जोडिएको परिवारले अझैं आफ्नो आफन्तको अवस्था थाहा पाउन सकेका छैनन ? भन्ने प्रश्न भने बाँकी नै छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म ५ हजार २८५ जना बेपत्ता छन्। बाढीमा १ हजार ४५१ जनाको शव फेला परिसकेको छ भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।

बेपत्ता व्यक्तिको पहिचान तथा खोजीका लागि अहिलेसम्म २ हजार ६० जनाको डीएनए नमूना संकलन गरिएको छ। सुरक्षा निकाय र सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य अझै जारी छ।

एक महीना बितिसक्दा पनि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि समयले अनिश्चितता मात्रै थपेको छ। अस्पतालको भित्तामा टाँसिएका तस्वीरमध्ये केही पुराना र च्यातिन थालेका छन्। केहीमा लेखिएका नाम र सम्पर्क विवरणसमेत धमिलिँदै गएका छन्।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीबाट ७० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरण छ। धेरै परिवार विस्थापित भएका छन् भने टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा ठूलो क्षति पुगेको छ।

बाढीमा बेपत्ता भएकाहरूको परिवारका लागि भने पुनर्निर्माणभन्दा पहिले हराएका आफन्तको खोजी र पहिचान प्रमुख विषय बनेको छ। एक महीनापछि बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीको गति विस्तारै बदलिँदै गए पनि अस्पतालको भित्तामा टाँसिएका तस्बिरहरूले अझै हराएका मानिसहरूको कथा सम्झाइरहेका छन्। भित्तामा रहेका अनुहारका रेखा बिस्तारै मेटिँदै छन्। तर, ती तस्वीर टाँस्ने परिवारका लागि आफ्नो आफन्त फर्किने आशा अझै मेटिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *