कांग्रेस इतर पक्षद्वारा १५औं महाधिवेशन: असोज १५ मा वडा, मंसिर २१-२३ मा केन्द्रीय महाधिवेशन

डिसी नेपाल
१० असोज २०८३ १८:०९

काठमाडौं। नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनलाई लिएर आन्तरिक किचलो बढिरहेका बेला संस्थापन इतर पक्षले महाधिवेशनको नयाँ कार्यतालिका अघि सारेको छ। इतर पक्षले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गर्दै असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने घोषणा गरेको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता डा. प्रकाशशरण महतले महाधिवेशनको तयारीबारे जानकारी गराएका हुन्। एकताको महाधिवेशनका लागि अन्तिमसम्म प्रयास गरिए पनि सहमति नजुट्दा छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता आएको नेता महतले स्पष्ट पारे।

हालैको भारी वर्षाका कारण केही व्यवस्थापकीय तयारीमा ढिलाइ भए पनि केन्द्रीय कार्यालयका तर्फबाट हुनुपर्ने कामहरू तीव्र गतिमा भइरहेको उनले बताए। महाधिवेशन सम्पन्न गराउन स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सञ्चालनको अनुभव भएका व्यक्तिहरूको सहयोग लिइने जानकारी पनि उनले दिए।

नवीकरण भएका तथा नयाँ क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडाहसम्म पठाइनेछ। छुटेका व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ।

निर्वाचन अधिकृतहरू एक-दुई दिनभित्रै सम्बन्धित जिल्लामा पुग्नेछन्। वर्षा वा अन्य प्रतिकूल परिस्थितिका कारण कुनै वडामा असोज १५ गते अधिवेशन हुन नसकेमा जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको समन्वयमा असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने लचकता अपनाइएको छ।

हाल कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर दुई धार स्पष्ट देखिएको छ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने इतर पक्षले मंसिर २१ देखि २३ गतेको मिति तय गर्दै फरक-फरक कार्यतालिका सार्वजनिक गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *