गीतकार लक्ष्मण सिटौलाको ‘आखिर कोही नहोलान्’ सार्वजनिक

डिसी नेपाल
११ असोज २०८३ १४:११

काठमाडौं। साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका चर्चित गीतकार लक्ष्मण सिटौलाको नयाँ गीति भिडियो ‘आखिर कोही नहोलान्’ सार्वजनिक भएको छ।

करिब १० वर्षअघि रेकर्ड गरिएको यो गीत असोज १० गते गीतकार सिटौलाको आफ्नै आधिकारिक युट्युब च्यानल ‘लक्ष्मण सिटौला’मार्फत बजारमा ल्याइएको हो।

भारतको मुम्बईस्थित नेपाल वायुसेवा निगमको स्टेसन प्रमुखका रूपमा कार्यरत रहँदा सिटौलाले यो गीतको रचना गरेका थिए। गीतको अन्तिम स्वराङ्कन (फाइनल रेकर्डिङ) भने २०७३ सालको चैतमा सम्पन्न भएको थियो।

हालसम्म ७०० भन्दा बढी गीत सिर्जना गरिसकेका सिटौलाको यस गीतमा भारतीय गायिका श्रुति भारद्वाजको मधुर स्वर रहेको छ। गीतमा स्वयं गीतकार सिटौलाकै सङ्गीत छ भने टीएस भारद्वाजले संगीत संयोजन (म्युजिक एरेन्ज) गरेका हुन्। त्यसैगरी, गीतको भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन्।

नेपाली गीति लेखन परम्पराको लामो इतिहासमा मोतीराम भट्टको युगदेखि सुरु भएको गीत-गजल लेखनले पछि एउटा छुट्टै सशक्त विधाको रूप लियो।

सोही परम्परालाई पछ्याउँदै सिटौलाले विक्रम संवत् २०४८ मा आफ्नो पहिलो गीत रचना गरेका थिए, जसलाई स्वरकिन्नरी तारादेवीले गाएकी थिइन्। त्यसयता उनका गीतमा तारादेवीदेखि लिएर नयाँ पुस्ताका चर्चित गायिका रचना रिमाल र सिम्रन परियारसम्मले स्वर दिइसकेका छन्।

साहित्यका विभिन्न विधामा तीन दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका सिटौलाका राजनीति, समाज, अर्थतन्त्रका साथै बेथिति र भ्रष्टाचारविरुद्धका सयौँ विश्लेषणात्मक स्तम्भहरू विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित हुँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *