मोज्तबा खमेनीलाई आफू देशको सर्वोच्च नेता बनेको थाहै थिएन
काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीलाई अमेरिकी आक्रमणपछि अस्पतालको भग्नावशेषबाट निकालिएको थियो। अमेरिकी पत्रिका ‘न्यूयोर्क पोस्ट’ ले इरानको एसेम्ब्ली अफ एक्सपर्ट्सका सदस्य मोहसेन हैदरीलाई उद्धृत गर्दै यो प्रतिवेदन सार्वजनिक गरेको छ।
रिपोर्ट अनुसार फेब्रुअरी २८ मा अमेरिका-इजरायलको सुरुआती आक्रमणमा मोज्तबा घाइते भएका थिए। त्यसपछि उनलाई तेहरानको एक अस्पतालमा भर्ना गरिएको थियो। तर, पछि अमेरिकाले उक्त अस्पतालमाथि पनि आक्रमण गरेको थियो।
हैदरीका अनुसार खामेनेईलाई अस्पतालको भग्नावशेषबाट निकालेर अज्ञात स्थलमा लगिएको थियो। त्यसयता खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। यद्यपि, अगस्ट ८ मा एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनी मानिसहरूसँग कुराकानी गरिरहेका देखिएका थिए। त्यति मात्र नभई, रिपोर्ट अनुसार सर्वोच्च नेता चुनिएको जानकारीसमेत उनलाई स्वयं थाहा थिएन। इरानी टेलिभिजनमा घोषणा भएपछि मात्र उनले आफू सर्वोच्च नेता बनेको खबर पाएका थिए।
इरानमा सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी एसेम्ब्ली अफ एक्सपर्ट्सको हुन्छ। न्यूयोर्क पोस्टका अनुसार आक्रमणका क्रममा यो संस्थाको कोमस्थित सचिवालयलाई पनि निशाना बनाइएको थियो।
बमबारीमा परि ८ जनाको मृत्यु भएको र नयाँ सर्वोच्च नेताको चयनसँग सम्बन्धित कागजातहरू नष्ट भएको दाबी रिपोर्टमा गरिएको छ। त्यसपछि एसेम्ब्लीका सदस्यहरूले कागजमा भोट लेखेर एक गुप्त कोठामा गई निर्वाचन प्रक्रिया पूरा गरेका थिए।
हैदरीले मोज्तबा खामेनेईको नाम सबैभन्दा पहिले आफूले नै प्रस्ताव गरेको बताए। उनका अनुसार मोज्तबा सुरक्षित रहेको र नेतृत्व सम्हाल्न सक्ने जानकारी एसेम्ब्लीलाई प्राप्त भएको थियो। त्यसैले उनलाई नयाँ सर्वोच्च नेता चुनियो।
न्यूयोर्क पोस्टका अनुसार ५९ मध्ये ५० जना सदस्यले मोज्तबाको पक्षमा मतदान गरेका थिए। आयतोल्लाह अलिर्जा अराफीले ८ भोट पाए भने एक जना सदस्यले मतदानमा भाग लिएका थिएनन्।
हैदरीले मोज्तबा खामेनेईलाई पर्दापछाडिका व्यक्तिको रूपमा वर्णन गरे। सर्वोच्च नेता बन्नुअघि उनले कुनै ठूलो सरकारी वा राजनीतिक पद सम्हालेका थिएनन्। तैपनि उनका बुबाको कार्यालय, आइआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स) र सुरक्षा संयन्त्रमा बलियो पकड तथा पहुँच रहेको मानिन्थ्यो।
उनले इरान-इराक युद्धको अन्तिम चरणमा आिआरजीसीमा सेवा गरेका थिए। सन् २००९ को राष्ट्रपतीय निर्वाचनपछि भएका प्रदर्शनहरूका क्रममा पनि सत्ताभित्र प्रभाव राख्ने नेताहरूका रूपमा उनको नाम अगाडि आएको थियो। अमेरिकाले सन् २०१९ मा उनीमाथि प्रतिबन्ध लगाएको थियो।
मोज्तबा खामेनेईको स्वास्थ्यलाई लिएर कैयौँ किसिमका दाबीहरू बाहिर आउने गरेका छन्। न्यूयोर्क पोस्टका अनुसार केही अमेरिकी गुप्तचर रिपोर्टहरूमा आक्रमणका क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको दाबी गरिएको थियो।
गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई मोज्तबाको मृत्यु भएकोजस्तो नलागेको बताएका थिए। ट्रम्पका अनुसार उनको शरीरको देब्रे भाग, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।
यसैबिच, इरानी राष्ट्रपति मसुद पेजेस्कियनले यसै हप्ता फक्स न्युजलाई दिएको अन्तर्वार्तामा मोज्तबा पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्। उनले गत महिना आफूले मोज्तबासँग करिब ७ घण्टा लामो भेटघाट गरेको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment