म्याग्दीमा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु, दुई बेपत्ता

डिसी नेपाल
११ असोज २०८३ १६:२९

म्याग्दी । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। यस्तै, पहिरोमा पुरिएका एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, गिवाङमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ। यस्तै बेनी नगरपालिका–३, छेपारेमा ३६ वर्षीया कुमारी ओली विकको पहिरोमा परेर मृत्यु भएको छ।

यसैगरी, मालिका गाउँपालिका–३, औलामा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्। सोही स्थानबाट एक जनालाई अचेत अवस्थामा जीवितै उद्धार गरी उपचारका लागि पठाइएको छ।

जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुबानले क्षति पुर्‍याएको र प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।

अविरल वर्षाका कारण जिल्लाभर विद्युत्, टेलिफोन तथा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार, राहत वितरण तथा क्षतिको विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको सहायक प्रजिअ आचार्यले बताउनुभयो। प्रशासनका अनुसार घटनाको थप विवरण संकलन गर्ने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *