दशैंको पूर्वसन्ध्यामा जडीबुटीको ‘क्लब १८’ मा र्‍यापर भियोमाको लाइभ कन्सर्ट हुने

डिसी नेपाल
१२ असोज २०८३ १४:०९

काठमाडौं। बडादशैंको पूर्वसन्ध्यामा काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’ मा चर्चित युवा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।

क्लब १८ को आयोजनामा आगामी असोज १६ गते (अक्टोबर २) आयोजना हुन लागेको ‘भियोमा लाइभ’ कार्यक्रम राति ८ बजेदेखि सुरु हुनेछ।

उक्त सांगीतिक साँझमा र्‍यापर भियोमाले युवापुस्तामाझ निकै लोकप्रिय रहेका आफ्ना चर्चित गीतहरू ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ‘गोरी’, ‘मायाले मात्यो म’, ‘ढाका-धोती’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायतका ट्र्याकहरूमा प्रत्यक्ष (लाइभ) प्रस्तुति दिनेछन्। भियोमाको कन्सर्टका साथै कार्यक्रममा डिजेको विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

दशैंको चाडपर्वको माहोल सुरु भइसकेको अवसरमा युवापुस्तालाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले जानकारी दिए।

दशैंअघि साथीभाइ तथा परिवारजनसँग भेटघाट गर्दै सांगीतिक मनोरञ्जनमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले यो इभेन्ट गर्न लागिएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार दशैं भनेको खुसी साटासाट गर्ने र रमाइलो गर्ने समय भएकाले यस माहोललाई अझ भव्य बनाउन युवामाझ चर्चित भियोमालाई मञ्चमा ल्याउन लागिएको हो। भियोमाको ऊर्जावान् प्रस्तुति र क्लबको वातावरणले दर्शकलाई दशैंको पूर्वसन्ध्यामा फरक र अविस्मरणीय सांगीतिक अनुभूति दिने विश्वास आयोजकले लिएको छ।

कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि अग्रिम टेबल रिजर्भेसनको व्यवस्था मिलाइएको छ। क्लब १८ ले सम्पूर्ण संगीतप्रेमी तथा युवाहरूलाई दसैँको यस विशेष सांगीतिक रातमा सहभागी भई रमाइलो गर्न आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *