बाढीले बगाएको ६० टनको ‘राइनो क्रुजसिप’ काटेर हटाइँदै, नारायणी पुलमा ठूला सवारी रोक

डिसी नेपाल
१२ असोज २०८३ १४:४६

चितवन। निरन्तरको अविरल वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलमा अड्किएको ‘राइनो क्रुजसिप’ लाई काटेर हटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

बाढीले बगाएर ल्याएपछि नारायणी पुलको गैँडाकोटतर्फको छेउमा अड्किएको उक्त क्रुजसिपलाई थप बग्न नदिन नदी किनारको रुखमा डोरीले बाँधेर राखिएको थियो।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार क्रुजसिप हाल नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा सीधा ठोकिएको अवस्थामा छ।

नदीमा बाढीको बहाव अझै उच्च रहेकाले अड्किएको क्रुजसिपका कारण पुलको भौतिक संरचनामा गम्भीर जोखिम पैदा हुने खतरा बढेपछि आइतबार साँझदेखि नै यसलाई पछाडि हटाउने वा निकाल्ने प्रक्रिया अघि बढाइएको हो। क्रुजसिप हटाउनका लागि तीन वटा शक्तिशाली क्रेनहरू घटनास्थलमा झिकाइएको छ।

इन्जिनियर घिमिरेका अनुसार क्रुजसिप करिब ६० टन भार क्षमताको र ठूलो आकारको भएकाले सिङ्गै तानेर निकाल्न सम्भव देखिएको छैन।

त्यसैले क्रेन र प्राविधिक टोलीको सहयोगमा क्रुजसिपका भागहरू काटेर टुक्रा-टुक्रा पारी बाहिर निकालिनेछ। यसअघि यो क्रुजसिप नारायणी नदीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जलयात्रा गराउन प्रयोग गरिँदै आइएको थियो।

पुलको पिल्लरमै क्रुजसिप अड्किएर नदीको पानीको प्राकृतिक बहाव रोकिएपछि पुलमा थप दबाब र जोखिम सिर्जना भएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले आइतबार साँझदेखि नै नारायणी पुलमा ठूला तथा भारी भारवहन सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *