निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

डिसी नेपाल
१२ असोज २०८३ २२:२७

बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने ग्याङ नदीमाथि निर्माण गरिएको पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै जोखिममा परेको छ।

पश्चिमतर्फको उत्तरी भागमा रहेको पहुँच सडक भासिन थालेपछि पुलको संरचनामै क्षति पुग्ने जोखिम बढेको बढैयाताल गाउँपालिका–९, का वडाध्यक्ष वीरबहादुर थारुले बताए। करिब रु आठ करोडको लागतमा निर्माण सम्पन्न भएको पुल जोखिममा परेपछि लामो समयदेखि पुलको सुविधा पर्खिरहेका मुक्त कमैया बस्तीका बासिन्दा चिन्तित बनेका छन्।

विकास नगर मुक्त कमैया बस्तीका स्थानीय जयकृष्ण थारुले निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण भएको दुई वर्ष नपुग्दै एकातर्फको पहुँच सडक भासिन थालेको बताए।

“अहिलेसम्म टालटुल गरेर मर्मत गरिँदै आएको छ,” उनले भने, “तर, समस्या समाधान हुन सकेको छैन।” पहुँच सडक तत्काल भत्काएर पुनःनिर्माण तथा मर्मत गर्नुपर्ने थारुले सुझाव दिए।

पुरानो पुल भत्किएको करिब एक दशकपछि नयाँ पुल निर्माण सम्पन्न भएपछि मुक्त कमैया बस्तीका स्थानीयले सहज आवागमन हुने अपेक्षा गरेका थिए। लामो समयसम्म पुल नहुँदा वर्षायाममा ग्याङ नदी तर्न तथा आवतजावत गर्न स्थानीयले ठूलो सास्ती भोग्दै आएका थिए। नयाँ पुल बनेपछि आवागमन सहज हुने आशा गरेका स्थानीय अहिले निर्माण सम्पन्न भएको छोटो समयमै पुल जोखिममा परेपछि निराश बनेका स्थानीय बजारु थारुले बताए।

सडक पूर्वाधार विकास कार्यालयका सव इन्जिनियर एवं सूचना अधिकारी प्रकाश थारुका अनुसार पुलको पहुँच सडक भासिन थालेपछि जोखिम बढेको हो। उनले भने, “पुल तत्काल मर्मतका लागि करिब रु ५० लाख बजेट आवश्यक पर्छ। समयमै मर्मत नभए पहुँच सडक भासिएर पुलको संरचनामा अत्यधिक क्षति पुग्ने अवस्था छ।”

पुलको पहुँच सडकमा गत वर्ष पनि निर्माण कम्पनीले सामान्य मर्मत गरेको थियो। तर समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। पहुँच सडकमा क्षति पुगेपछि सवारीसाधनको आवतजावतमा समेत समस्या भएको छ।

हाल सामान्य मर्मतपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको भए पनि नदीको बहाव बढ्दा थप क्षति हुन सक्ने जोखिम रहेको सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले जनाएको छ।

उक्त पुलले बढैयाताल–८, पञ्चबजारदेखि जनतानगर, शक्तिनगर हुँदै बारबर्दियाको बैदी जोड्ने मुख्य सडकअन्तर्गत ग्याङ नदीमा निर्माण गरिएको हो। उक्त पुल २०८१ कात्तिकमा निर्माण सम्पन्न भएको हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *