बागलुङमा बाढीपहिरोको ठूलो क्षति, १२ जनाको मृत्यु, ६१ घर–गोठ बगायो
फाइल फाेटाे।
बागलुङ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले बागलुङमा ठूलो जनधनको क्षति गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहमा ६१ घर तथा गोठ पूर्ण रूपमा बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
विपद्का घटनामा परी जिल्लामा १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्। मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना रहेका छन्। तमानखोलामा पहिरोमा परी एक महिला बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिएका छन्।
बाढीपहिरोबाट निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्। दरमखोलाको कटानका कारण गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगेको छ। जिल्लामा तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। त्यस्तै एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा समेत क्षति पुगेको छ। विपद्का कारण २५६ वटा पशुचौपायामा क्षति पुगेको छ भने २१५ वटा कुखुरा मरेका छन्।
निसीखोला गाउँपालिका–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। सोही क्षेत्रमा पहिरोका कारण चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ।
तमानखोला गाउँपालिका–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति पुगेको छ भने दुई गोठमा क्षति भएको छ।
ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ।
गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला गाउँपालिका–१, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ।
यसैबीच, निसीखोला गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार विपद्का कारण ज्यान गुमाएका परिवार, पूर्ण रूपमा जोखिममा रहेका परिवार तथा आंशिक जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी नगद तथा खाद्यान्न राहत वितरण गरिएको हो।
गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ। पाँच जना मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दिइएको छ।
त्यस्तै, घर पूर्ण रूपमा क्षतिग्रस्त भएका २४ परिवारलाई ३० हजार रुपैयाँका दरले तथा घरमा आंशिक क्षति भएका २१ परिवारलाई १० हजार रुपैयाँका दरले सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। प्रभावित परिवारलाई चामल र त्रिपालसमेत वितरण गरिएको छ।
निसीखोलामा मात्रै बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप २१ परिवारका घर उच्च जोखिममा रहेका छन्। स्थानीय तह र प्रशासनले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलनलाई निरन्तरता दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment