पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: कानुनी आधार स्पष्ट पार्न सरकारसँग कांग्रेसको माग

डिसी नेपाल
१४ असोज २०८३ १४:२८

काठमाडौं।  नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको स्पष्ट कानुनी आधार र कारणबारे सरकारसँग औपचारिक जवाफ मागेको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौतीको बहाना बनाउँदै जबरालाई नियन्त्रणमा लिइएको घटनाले राज्यको भूमिका र विद्यमान कानुनी प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको बताइन्।

सांसद कर्णले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा सुरक्षा चुनौती देखाएर प्रहरीले नियन्त्रणमा लिएको विषय कानुनसम्मत नभएको टिप्पणी गरिन्।

यदि कुनै नागरिक वा विशिष्ट व्यक्तिलाई सुरक्षा चुनौती छ भने राज्यले आवश्यक सुरक्षा प्रदान गर्नुपर्ने दायित्व हुने उल्लेख गर्दै उनले सुरक्षाको नाममा नागरिकको व्यक्तिगत स्वतन्त्रता नै नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक हुनुपर्नेमा जोड दिइन्।

कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानले प्रदान गरेका मौलिक अधिकारहरू फरक हुन नसक्ने सांसद कर्णको भनाइ छ।

यदि कसैले कुनै कसुर वा गैरकानुनी काम गरेको भए निष्पक्ष छानबिन गरी कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने स्पष्ट पार्दै उनले सत्ता र राज्य संयन्त्रको दुरुपयोग कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने चेतावनी दिइन्।

उल्लेखनीय छ, प्रहरीले ‘सुरक्षा थ्रेट’ (सुरक्षा जोखिम) को कारण देखाउँदै पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको करिब १२ घण्टापछि मात्रै प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *