इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीले भने- नयाँ सोच र नवप्रवर्तनका कुरा उठाउनुहोस्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा इन्जिनियरिङ पृष्ठभूमि रहेका प्रतिनिधि सभा सदस्यहरूसँग दुई घण्टाभन्दा लामो छलफल गरेका छन्।
बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सांसदहरूले उठाएका विषय, बाढी-पहिरोपछिको अवस्था र विकास निर्माणका योजनाबारे समीक्षा भएको छ।
बैठकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य (रसुवा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना गरी कुल १७ जना इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूको उपस्थिति थियो। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीमा यस क्षेत्रका सांसद नभएकाले आमन्त्रण नगरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र सोचका आधारमा तीन श्रेणीमा वर्गीकरण गर्दै इन्जिनियरहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ (असाधारण) का रूपमा प्रस्तुत गरे।
प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि नयाँ अवधारणा दिन आग्रह गर्दै संसद्मा उठेका रचनात्मक विषयलाई सरकार र मन्त्रालयहरूले गम्भीरतापूर्वक सुनिरहेको बताए। विकासका कुनै पनि नयाँ सोच भए सीधै प्रधानमन्त्री कार्यालयमा आएर छलफल गर्न सकिने आश्वासनसमेत उनले दिए।
आगामी दिनमा आउने कानुन र विधेयकहरूमा सांसदहरूकै व्यावहारिक अनुभव र सुझाव समावेश गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसमा साथ र सहयोगको अपेक्षा राखेका छन्।
छलफलमा रास्वपाका सांसद डा. राम लामाले देश विकासका लागि विद्यमान कानुनमा सुधार आवश्यक रहेको विषय उठाएका थिए। उनले विशेष गरी वन ऐन र ठूला आयोजना सहजीकरण गर्ने कानुन सुधार गर्नका साथै आन्तरिक रूपमै बिजुली खपत बढाउने योजना ल्याउन सुझाव दिएका थिए।
जवाफमा प्रधानमन्त्री शाहले बिजुली बिक्रीभन्दा पनि स्वदेशमै खपत बढाउने गरी नीतिहरू बनिरहेको जानकारी गराए। साथै, नेपालमै रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले छिट्टै प्रस्ताव (प्रपोजल) आह्वान गर्न लागेको र यस्ता ठूला आयोजनाहरूमा आवश्यक सहुलियत उपलब्ध गराइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment