दसैंको अग्रिम टिकट बुकिङ तत्काल नखुल्ने
काठमाडौं। अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू क्षतिग्रस्त भएकाले यस वर्ष दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट खुलाउन नसकिने स्पष्ट पारेको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यात्रुलाई पूर्वसूचना दिएर टिकट बिक्री गर्नुभन्दा उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन्।
गत वर्ष चौतर्फी दबाबका कारण समयमै टिकट खुलाइए पनि बाटो बिग्रिँदा यात्रुहरू तीन दिनसम्म बाटामै अलपत्र पर्नुपरेको घटना उनले स्मरण गरेका छन्। यस पटक त्यस्तो सास्ती नहोस् भन्नका लागि आफूहरू सतर्क रहेको उनको भनाइ छ।
यस वर्ष विगतझैँ १० देखि १५ दिनअघि नै एकैपटक अग्रिम टिकट खोल्ने सम्भावना कम छ। सडकको अवस्थालाई नियालेर २ देखि ३ दिनका लागि मात्रै बुकिङ खुलाउने विकल्पबारे महासंघ र सरकारबीच छलफल भइरहेको छ। यातायात व्यवस्था विभागसँगको आगामी बैठकपछि यस विषयमा अन्तिम निर्णय लिइनेछ।
बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको र अझै पनि पहिरोको जोखिम कायम रहेकाले महासंघले यात्रुहरूलाई अत्यावश्यक काम नपरी जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। प्राकृतिक प्रकोपको डरलाग्दो अवस्था रहेकाले सम्भव भएसम्म जो जहाँ छ, त्यहीँ दसैँ मनाउन अध्यक्ष सिटौलाले सुझाव दिएका छन्।
सडक थप बिग्रिनुमा ४० देखि ७० टनसम्म भार बोक्ने मालवाहक (ओभरलोड) गाडी मुख्य कारण रहेको दाबी गर्दै व्यवसायीहरूले तिनलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। रामनगर लगायतका स्थानमा रहेका तौल पुलहरू प्रभावकारी नभएको र हेभी गाडीहरू नियमविपरीत पास भइरहेको महासंघको आरोप छ।
यसैगरी, व्यवसायीहरूले यसपटक भाडा वृद्धिको कुनै माग नराखेको स्पष्ट पार्दै सडकमा ट्राफिक प्रहरीले गर्ने अनावश्यक चेकिङ बन्द गर्न आग्रह गरेका छन्। सुरुवाती विन्दुमै जाँच गरी छुट दिएपछि शङ्कास्पद अवस्थामा बाहेक बाटोभरि रोकेर दुःख दिन नहुने उनीहरूको भनाइ छ। यात्रालाई सुरक्षित बनाउन दुईजना चालक राख्ने प्रतिबद्धता भने व्यवसायीहरूले जनाएका छन्।
गत भदौ १० गतेको बाढीपहिरोपछि गाडीहरू बसपार्कमै थन्किँदा व्यवसायी र मजदुरहरू आर्थिक सङ्कटमा परेका छन्। बैंकको किस्ता तिर्न र कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत धौ-धौ परेको महासंघले जनाएको छ।
हाल बाढीपहिरोबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको र सोही अनुसार क्षतिपूर्ति तथा पुनरुत्थानका लागि तथ्याङ्क बुझाउने तयारी भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment