हिमलुङ हिमपहिरो : थप तीन जनाको शव फेला, अझै ९ जना बेपत्ता

डिसी नेपाल
१४ असोज २०८३ १८:१०

लमजुङ। मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव बुधबार फेला परेको छ। जारी खोज तथा उद्धार अभियानका क्रममा गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमलुङ बेसक्याम्पबाट ल्याइएका तीनै जनाको शव बुधबार दिउँसो करिब ४:४२ बजे सदरमुकाम चामे पुर्‍याइएको छ। हाल शवहरू चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको र बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।

मृतकहरूमा गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का २१ वर्षीय सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कलम बुढा रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार उनीहरू तीनै जना ‘हिमालयन होलिडेज’ एजेन्सीमार्फत हिमाल आरोहण तथा सहजीकरणमा आबद्ध थिए।

हिमलुङ हिमपहिरोमा परी अझै ९ जना आरोही तथा सहयोगीहरू बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा हिमालयन होलिडेजका ७ र इम्याजिङ नेपालका २ जना रहेका छन्। उनीहरूको खोजी कार्य निरन्तर जारी राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *