अधिकारसँगै आर्थिक एजेन्डा नजोडिएसम्म मुलुक समृद्ध बन्दैन : प्रदीप पौडेल
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक आन्दोलनलाई केवल अधिकार प्राप्तिको लडाइँमा मात्र सीमित नगरी आर्थिक विषयसँग जोड्न नसक्दासम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्।
बुधबार जय नेपाल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शक’ र ‘समृद्धि नेपालको राजनीतिक दिग्दर्शन’ को संयुक्त विमोचन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति र समाजभित्र आर्थिक मुद्दाहरूले प्राथमिकता पाउनुपर्नेमा जोड दिए।
पार्टीको जारी क्षेत्रीय अधिवेशन समन्वयका कारण सभापति शेरबहादुर देउवा उपस्थित हुन नसकेपछि उनको समेत प्रतिनिधित्व गर्दै पौडेल कार्यक्रममा पुगेका थिए।
समारोहमा बोल्दै नेता पौडेलले राजनीतिक दलहरूले आर्थिक बहसलाई गम्भीर रूपमा लिन नसकेको बताए।
‘हामीले राजनीतिक दर्शन, समाज र पाठ्यक्रमलाई समेत आर्थिक विषयसँग जुन ढङ्गबाट जोड्नुपर्थ्यो, त्यो सकेनौँ। हाम्रा स्रोतहरू परिचालन गर्ने कुरा राजनीतिक दलका घोषणापत्र र बहसको विषय बन्न सकेनन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा युवा पठाएर देश समृद्ध हुन सक्दैन, स्वदेशी स्रोतलाई परिचालन गर्ने वैज्ञानिक विधि नपनाएसम्म आर्थिक रूपान्तरण सम्भव छैन।’
नेपालको विकास बहस सतही भएको टिप्पणी गर्दै उनले आयातित वाद र दर्शनले मात्र नेपालको धरातलीय यथार्थ सम्बोधन गर्न नसक्ने धारणा राखे।
‘हामी मार्क्सवादको कुरा गर्छौँ, जसले नेपालको आर्थिक विकासको कुरा गर्दैन। बिपी कोइरालाले मौलिक विषय उठाउनुभयो तर आजको बदलिँदो सन्दर्भका लागि त्यो मात्र पर्याप्त छ जस्तो लाग्दैन। माओ वा लेनिनका अभ्यासहरू हाम्रो परिस्थितिसँग हुबहु मिल्दैनन्,’ उनले थपे, ‘त्यसैले आफ्नै मौलिकता, स्रोत र शासन प्रणालीसँग जोडेर नयाँ आर्थिक नीति तर्जुमा गर्न सघन बहस जरुरी छ।’
नेपालको आर्थिक विकासको मूल आधार कृषि, पर्यटन र जडीबुटीजन्य उद्योग भएको उल्लेख गर्दै उनले कृषिको व्यवसायीकरण र बजारीकरणका लागि स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको बताए। विश्वको आधा पुँजी १.८ प्रतिशत मानिसको हातमा केन्द्रित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसभित्र दक्षिण एसिया पर्न नसकेको र नेपालले आफ्ना स्रोतसाधनको वैज्ञानिक उपयोगमा गम्भीर हुनुपर्ने बताए।
लेखक बद्री अर्यालसँग विद्यार्थी आन्दोलनदेखिको साढे तीन दशक लामो सहकार्य स्मरण गर्दै पौडेलले पुस्तकले नेपाली समाज, जनजीविका र राजनीतिक कमजोरीहरूलाई केलाउँदै आर्थिक विकासका निम्ति रचनात्मक मार्गचित्र प्रस्तुत गरेको बताए। समस्या मात्र औँल्याउने तर समाधान नदिने प्रवृत्तिका बिच यस्ता सिर्जनात्मक पुस्तकले नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment