मनाङ हिमपहिरो अपडेट: थप चार शव फेला, ११ जनाको मृत्यु पुष्टि

डिसी नेपाल
१५ असोज २०८३ १५:४९

काठमाडौं। मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूमध्ये थप चार जनाको शव फेला परेको छ। थप शव भेटिएसँगै उक्त हिमपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ।

हिमपहिरोमा हराइरहेका आरोही तथा सहयोगीहरूको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड सङ्घ (नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन) को टोलीले असोज १५ गते (बिहीबार) थप चार जनाको शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिने क्रममा ती शवहरू फेला पारेको जानकारी दिएको छ।

उद्धार टोली प्रमुख शेर्पाका अनुसार हिमपहिरोमा पुरिएका शवहरू निकाल्ने कार्य जारी रहेको छ भने नयाँ फेला परेका शवहरूको पहिचान हुन बाँकी छ।

यसअघि असोज १४ गते (बुधबार) आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसैगरी असोज ११ गते (आइतबार) र १२ गते (सोमबार) वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

हिम्लुङको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा कुल १६ जना आरोही तथा सहयोगीहरू पुरिएर बेपत्ता भएका थिए। असोज ९ गतेदेखि नै मौसम प्रतिकूल बनेका कारण हिमालमा हिमपहिरोको जोखिम बढेको थियो।

पहिरोमा परेका १६ मध्ये हालसम्म ११ जनाको शव प्राप्त भइसकेको छ भने अझै पाँच जना आरोही तथा सहयोगीहरू सम्पर्कविहीन रहेका छन्। बेपत्ता बाँकी पाँच जनाको खोजी कार्य निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ। हिमपहिरो गएकै समयमा आरोहणमा रहेका अन्य ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *