सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन र जडीबुटी संकलनका लागि कार्यदल गठन गरिने
काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’पछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो।
सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘समितिको विकासका लागि जडीबुटीको दिगो संकलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ।’
डा. अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउने र आगामी दिनमा विदेशमा पनि निर्यात गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रुपमा रहेको जडीबुटी संकलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले भने, ‘कच्चा पदार्थको सदुपयोगका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरणका साथै कानूनमा पनि सुधार आवश्यक छ, त्यसका लागि चाँडोभन्दा चाँडो काम गर्नुपर्ने छ, औषधिजन्य वनस्पतीको खतीदेखि संकलन र उपभोगसम्म स्पष्ट कानून निर्माणमा ढिलाइ गर्न हुँदैन।’
गृहमन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधिका लागि आवश्यक कच्चा पदार्थको संकलन र उपयोगका सम्बन्धमा मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनका लागि सरोकारवालाबीच समन्वय र कानूनी स्पष्टताको आवश्यकता औंल्याए।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउनका लागि किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्नेमा जोड दिनुभयो। उहाँले जडीबुटी कम्पनीहरुसँग पनि बढीभन्दा बढी सहकार्य हुनुपर्नेमा जोड दिए।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदको उत्पादनमा कच्चा पदार्थ नै मुख्य समस्या रहेको बताए। उनले जडीबुटीको उत्पादन ठूलो मात्रामा गर्न सकियो भने मात्रै कम्पनीको विकास गर्न सकिने उल्लेख गरे। साथै कच्चा पदार्थमा मूल्य समर्थन निर्धारण गर्ने हो भने संकलनमा सहज हुने बताए।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा भएको जडीबुटी संकलन र उपभोगका लागि विभिन्न कानूनमा सुधारको आवश्यकता औंल्याए। कानूनले सामुदायिक वनबाट सालको पात टिपेर दुनाटपरी पनि बनाउन नमिल्ने अवस्था भएकाले कानूनमा सुधार जरुरी भएको उनको भनाइ छ।
वनस्पती विभागका महानिर्देशक डा सन्जीवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानूनहरु परिमार्जन गर्नुपर्ने बताए।
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment