परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन यही असोज १७ गते (शनिबार) फिजीतर्फ प्रस्थान गर्ने भएका छन्।
फिजी र टुभालुमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २० गते) मा आयोजना हुने उक्त उच्चस्तरीय सम्मेलनमा भाग लिन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो।
परराष्ट्र मन्त्रालयले असोज १५ गते (बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने ‘नेताहरूको पूर्ण सत्र’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सत्रअघि मन्त्री खनालले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीहरूसँगको प्रश्नोत्तर कार्यक्रममासमेत सहभागिता जनाउनेछन्।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना गरिन लागिएको यस प्रि-कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका प्रमुख सरोकारका विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
फिजी र टुभालुका कार्यक्रमहरू सम्पन्न भएपश्चात् परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले अक्टोबर ८ तारिखमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो भेटवार्तामा नेपाल-अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा गहन छलफल हुनेछ।
अस्ट्रेलिया भ्रमणकै क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास तथा सिड्नीमा नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रमहरूमा सहभागिता जनाउँदै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। भ्रमण सम्पन्न गरी मन्त्री खनाल अक्टोबर १२ तारिख (असोज २६ गते) काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment