घरमै तान लगाएर गलैँचा बुन्दै सुस्मिता, सीपले बनायो स्वरोजगार

डिसी नेपाल
१६ असोज २०८३ ९:१६

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेकी सुस्मिता वाइबा घरमै तान लगाएर गलैँचा बुन्दै आएकी छन्। घरायसी कामबाट बचेको समय सदुपयोग गर्दै गलैँचा बुन्ने कामलाई उनले आम्दानीको माध्यम बनाएकी हुन्।

यसअघि काठमाडौँमा गलैँचा बुन्ने सीप सिकेकी सुस्मिताले अहिले आफ्नै घरमा तान राखेर गलैँचा उत्पादन गर्दै आएकी छन्। फुर्सद हुनेबित्तिकै गलैँचा बुन्ने उनी घरमै मासु पसलसमेत सञ्चालन गर्दै आएकी छन्। घरको नियमित कामसँगै गलैँचा बुन्ने र अन्य व्यवसाय सञ्चालन गर्दा आफूलाई स्वरोजगार बन्न सहयोग पुगेको उनको भनाइ छ।

सुस्मिताका अनुसार एउटा गलैँचा तयार गर्न करिब २० देखि २२ दिन लाग्छ। घरायसी कामसँगै समय निकालेर गलैँचा बुन्ने भएकाले उत्पादन गर्न केही समय लाग्ने भए पनि तयार भएका गलैँचा बिक्री गर्न भने समस्या छैन। उनले आफूले बुनेका गलैँचाको काठमाडौँमा राम्रो माग रहेको बताइन्।

गलैँचा बनाउन आवश्यक पर्ने धागो उनले काठमाडौँबाटै मगाउने गरेकी छन्। सीप सिकेर घरमै उत्पादन गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने उनको अनुभव छ।

ज्यामिरेमै जितबहादुर वाइबाले पनि गलैँचा बुन्ने काम गर्दै आएका छन्। उनका अनुसार तानमा बुनेर तयार गरिएको एउटा गलैँचा सामान्यतः १० देखि ११ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

“तानमा बुनेर तयार गरिने गलैँचाको बजारमा माग राम्रो छ,” जितबहादुरले भने, “गलैँचा तयार गर्न सकेमा बिक्रीका लागि बजारमा कुनै समस्या छैन।”

गाउँका स्थानीयहरू पछिल्लो समय स्वरोजगार बन्ने उद्देश्यले विभिन्न किसिमका व्यवसायमा लाग्न थालेका छन्। कसैले बाख्रापालन गरिरहेका छन् भने कसैले कुखुरापालन, कृषि तथा अन्य आयआर्जनका काम गरिरहेका छन्। स्थानीयका अनुसार गाउँमा उत्पादन हुने विभिन्न वस्तुको बजारमा मागसमेत बढ्दै गएको छ।

तामाङ समुदायको बाहुल्यता रहेको बकैया गाउँपालिकाका विभिन्न स्थानमा स्थानीयले गलैँचा बुन्ने पेसालाई आयआर्जनको वैकल्पिक माध्यमका रूपमा अघि बढाइरहेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताए।

“यहाँका धेरै गाउँमा घरको नियमित कामसँगै समय छुट्याएर गलैँचा बुन्ने क्रम पनि चलिरहेको छ,” उनले भने, “गलैँचा बुन्ने व्यवसाय स्थानीयका लागि अतिरिक्त आयआर्जन गर्ने तथा स्वरोजगार बन्ने उपयुक्त विकल्प बनेको छ।”

उनका अनुसार गाउँपालिकाभित्र स्थानीयले व्यावसायिक कृषि, पशुपालनलगायतका क्षेत्रमा पनि काम गरिरहेका छन्। पछिल्लो समय विभिन्न ज्ञान, सीप र स्थानीय स्रोतको उपयोग गर्दै आफैँ रोजगारी सिर्जना गर्ने क्रम बढ्दै गएको उनले बताए।

घरमै तान लगाएर गलैँचा बुन्ने सुस्मिताजस्ता स्थानीयका लागि सीप अब केवल आम्दानीको माध्यम मात्र नभई आत्मनिर्भर बन्ने आधारसमेत बन्दै गएको छ। घरायसी कामसँगै आफ्नै गाउँमा बसेर उत्पादन र बिक्री गर्न सकिने भएकाले गलैँचा बुनाइ स्थानीयस्तरमा स्वरोजगारको विकल्पका रूपमा विस्तार हुँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *