ऊर्जा संकट र मूल्यवृद्धि नियन्त्रण गर्न ‘जी-७’ को सहमति: बजारमा पठाइँदै थप कच्चा तेल र डिजेल

डिसी नेपाल
१७ असोज २०८३ १८:१५

पेरिस। अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट अहिलेसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा पठाइसकेको जानकारी दिएका छन्।

विश्व बजारमा इन्धनको अभाव हुन नदिन गत मार्चमा जनाइएको ४० करोड ब्यारेल आपूर्तिको प्रतिबद्धतामध्ये ८० प्रतिशतभन्दा बढी तेल बजारमा पठाइएको हो।

अमेरिका-इरान तनावका कारण सिर्जित विश्वव्यापी ऊर्जा संकट र मूल्य वृद्धि नियन्त्रण गर्न विश्वका सात प्रमुख शक्तिशाली अर्थतन्त्रहरू (जी–७) ले आइईएसँगको समन्वयमा थप १० करोड ब्यारेल डिजेल तथा कच्चा तेल तुरुन्तै बजारमा पठाउने सहमति जनाएका हुन्।

आइईएका कार्यकारी निर्देशक फातिह बिरोलले जी-७ नेताहरूको भर्चुअल बैठकमा पूर्वप्रतिबद्धता अनुसारको बाँकी परिमाण निष्कासन भइरहेकै बेला यो नयाँ निर्णय आएको स्पष्ट पारेका छन्।

यद्यपि, जी-७ को वक्तव्यमा घोषणा गरिएको यो १० करोड ब्यारेलमा मार्चको प्रतिबद्धताबाट बाँकी रहेको करिब ७ करोड ५० लाख ब्यारेल समावेश छ वा यो पूर्णतः अतिरिक्त परिमाण हो भन्ने कुरा स्पष्ट पारिएको छैन। आगामी दिनहरूमा आइईएको ढाँचाभित्र रहेर जी-७ र अन्य साझेदार राष्ट्रहरूले बजारको स्थिति हेरी थप इन्धन निष्कासनबारे थप छलफल गर्ने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *