हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्णायक चरणमा

डिसी नेपाल
१७ असोज २०८३ १९:३२

काठमाडौं। करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ।

मुआब्जा, जग्गा तथा अन्य प्रक्रियागत विषयका कारण लामो समयदेखि रोकिएको आयोजनालाई गति दिन निरन्तर पहल र सरोकारवालासँगको समन्वयपछि कामले गति लिन थालेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार हेटौंडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ वटा टावरको काम अहिले अन्तिम चरणमा पुगेको छ। स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला तथा नेपाल विद्युत् प्राधिकरणको सक्रियताले आयोजनाले ठोस गति लिन थालेको उनले बताएका छन्।

हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्नेछ।

त्यस्तै, आयोजना सम्पन्न भएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। यसबाट राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने अपेक्षा छ।

मन्त्री श्रेष्ठले बाँकी काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्। साथै, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखा तथा निकायलाई आवश्यक सहजीकरण र समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

आयोजना निर्माणलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रभावित नागरिक, नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन, प्राविधिक तथा कर्मचारी, निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई मन्त्री श्रेष्ठले धन्यवाद दिएका छन्।

उनले अब ढिलाइभन्दा गति, समन्वय र परिणाम आवश्यक रहेको भन्दै हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *