यस्ताछन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महामन्त्री विपिन आचार्यको संयोजकत्वमा ८ सदस्यीय ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उक्त समिति गठन गर्नुका साथै पार्टीका विभिन्न १३ वटा केन्द्रीय विभागका प्रमुखहरूसमेत मनोनयन गरेको छ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार गठित उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहेका छन्। यस समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
बैठकले पार्टीका महत्वपूर्ण १३ वटा केन्द्रीय विभागका प्रमुखहरूको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा, तथा सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य मनोनयन भएका छन्।
यसैगरी सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी र वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसीलाई मनोनयन गरिएको छ। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बुढाथोकी मनोनयन भएका छन् भने अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) लाई जिम्मेवारी दिइएको छ।
बैठकमा मधेस प्रदेशमा पार्टी संगठनभित्र देखिएका समस्या र तिनको समाधानका लागि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन पेस भएको छ। कार्यदलले उक्त प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको र त्यसको अध्ययनपश्चात् उपयुक्त कदम चालिने रास्वपाले जनाएको छ।
यसैबीच रास्वपाले आगामी असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू देशका ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा पुगेर जनता, पार्टीका सदस्य र सरोकारवालाहरूसँग प्रत्यक्ष छलफल गरी सुझाव संकलन गर्नेछन्। बैठकले सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरूलाई यस अभियानमा अनिवार्य रूपमा परिचालित हुन कडा निर्देशन दिएको छ।
यस्तै, उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालय निर्माण वा सञ्चालनका लागि पायक पर्ने स्थानमा जमिन अथवा घर खरिद गर्ने निर्णय गर्दै त्यसका लागि उपयुक्त घर-जग्गाको खोजी गरिदिन आफ्ना सदस्य तथा शुभेच्छुकहरूसँग अनुरोधसमेत गरेको छ। बैठकले बडादसैँ, तिहार तथा छठलगायतका आसन्न चाडपर्वका अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment