कांग्रेस महाधिवेशन आजदेखि खुलामञ्चमा: पार्किङका लागि तोकिए विशेष स्थान

डिसी नेपाल
१८ असोज २०८३ ६:३८

काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशका ७७ वटै जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिहरूबाट सात हजारभन्दा बढी प्रतिनिधिहरू राजधानी आइपुगेका छन्।

महाधिवेशनका क्रममा राजधानीको सवारी आवागमन र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आयोजक र ट्राफिक प्रहरीको समन्वयमा विशेष पार्किङ व्यवस्था मिलाइएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा आयोजना भइरहेको उद्घाटन सत्र तथा भृकुटीमण्डपमा हुने बन्दसत्रमा सहभागी हुन आउने प्रतिनिधि तथा शुभेच्छुकहरूका सवारीसाधनका लागि शहरका विभिन्न प्रमुख स्थानहरू तोकिएका छन्।

विशेष गरी दुईपाङ्ग्रे र साना चारपाङ्ग्रे सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सकिनेछ। यसैगरी माइतीघरदेखि भद्रकालीसम्मको ‘वान वे’ सडकको एकतर्फी किनारामा पार्किङको व्यवस्था मिलाइएको छ।

दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसर तथा आसपासको खुला क्षेत्रमा पनि पार्किङ गर्न पाइनेछ। साथै, भृकुटीमण्डपभित्रको परिसर र पुरानो बसपार्क आसपासका क्षेत्रमा थप सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग अन्तिम समन्वय भइरहेको छ।

असोज २२ गतेसम्म सञ्चालन हुने यस १५औँ राष्ट्रिय महाधिवेशनका कारण सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप, माइतीघर र पुतलीसडक क्षेत्रमा सवारीको चाप उच्च हुने भएकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सम्भव भएसम्म सार्वजनिक यातायातका साधन प्रयोग गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *