संसददेखि स्थानीय तहसम्मका चर्चित युवाहरू कांग्रेस केन्द्रीय समितिमा भिड्दै

डिसी नेपाल
१८ असोज २०८३ ७:०६

काठमाडौं।  बदलिएको राजनीतिक परिवेश र दलभित्रकै आन्तरिक अन्तरविरोधबिच नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदै छ। महाधिवेशनमार्फत कांग्रेस हाँक्ने नयाँ नेतृत्व मात्र चयन हुने छैन, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दलले अब लिने राजनीतिक एजेन्डासमेत तय हुनेछ।

यसपटकको महाधिवेशनमा सबैभन्दा धेरै चर्चाको विषय बनेको छ- युवाहरूको बाक्लो उपस्थिति। गत वर्ष भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि नेपाली राजनीतिमा उदाएको युवापुस्ताको आकर्षणलाई कांग्रेस महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ। देशैभरबाट ठुलो सङ्ख्यामा युवाहरू महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौँ आइपुगेका छन्।

सबैभन्दा ‘बुढो’ मानिने पार्टीमा करिब ४० प्रतिशत युवाको उपस्थितिले कांग्रेसको आन्तरिक जीवनलाई भने ‘जवान’ बनाउने अपेक्षा गरिएको छ। पार्टीभित्र युवाको आकर्षण बढाउन सभापति गगन थापा मात्र नभई केही प्रभावशाली नयाँ र युवा नेतृत्वको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ, जसले कांग्रेसको भविष्य मात्र नभएर वर्तमानमा पनि राजनीतिप्रति आशा जगाइरहेका छन्। महाधिवेशनमार्फत यो पुस्ता आफूलाई केन्द्रीय समितिमा प्रवेश गराएर पार्टी सुधारका आन्तरिक विषयमा हस्तक्षेप गर्न खोजिरहेको छ।

त्यस्तैमध्येका एक उदीयमान पात्र हुन्- इलामका निस्कल राई। देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आउँदासमेत इलाम–१ बाट प्रत्यक्ष निर्वाचित राईले अहिलेको प्रतिनिधि सभामा प्रभावशाली उपस्थिति देखाइरहेका छन्।

पहिलोपटककै संसद यात्रामै दलको सचेतकको जिम्मेवारी पाएका उनले संसदमा प्रस्तुत गर्ने तर्क र विषयले छोटो समयमै नमेटिने छाप छाडेका छन्। संसदमा कांग्रेसको मात्र नभएर बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका राई नयाँ बन्ने केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यका बलिया दाबेदार हुन्।

वीरगन्जका कञ्चन झा पनि कांग्रेसमा उदाएका नयाँ पुस्ताका अर्का नेता हुन्। खासगरी कांग्रेस पार्टी कार्यालयभित्र युवापुस्तालाई जोड्न नयाँ विषय र मुद्दामा बहस चलाइरहेका झा महाधिवेशनको तयारीमा पनि सक्रियतापूर्वक खटिएका छन्।

बौद्धिक र तार्किक प्रस्तुतीका कारण झालाई भविष्यमा मधेसमा कांग्रेसको जिम्मेवारी सम्हाल्न सक्ने नेताका रूपमा आकलन गरिन्छ। उनी पनि यसपटक केन्द्रीय समितिमा प्रवेश गर्ने तयारीमा छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकार हो, जसको नेतृत्व कांग्रेसका युवा नेता प्रकाश तिवारीले सम्हालिरहेका छन्। सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमध्येका तिवारी व्यावसायिक पृष्ठभूमि भएका व्यक्ति हुन्। .

स्टार्टअप, इनोभेसन र लगानीसम्बन्धी कम्पनीमा नेतृत्व दिइसकेका उनी राजनीतिक अध्ययन र विश्लेषणमा उत्तिकै सक्रिय छन्। पालिकालाई पर्यटनको हबका रूपमा विकसित गर्न नेपालकै पहिलो नवग्रह मन्दिर स्थापनाको परिकल्पना गर्नेसमेत तिवारी नै हुन्। उनले पनि यसपटक आफूलाई केन्द्रीय सदस्यको रूपमा उभ्याएका छन्।

गण्डकी प्रदेशको तनहुँकी एलिजा ढकालले नेपाली कांग्रेसको विशेष महाधिवेशन अभियानलाई सफल बनाउन सक्रिय सहभागिता मात्र जनाइनन्, पार्टीको रूपान्तरण, पुनर्जागरण र आकर्षणका निम्ति देशव्यापी संवाद यात्रामा तत्कालीन महामन्त्री र हालका सभापति गगन थापासँगै सहभागी भइन्।

नेपाली कांग्रेस, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा जातीय भेदभावविरुद्ध सचेतना उपसमितिमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ। युवाको ऊर्जालाई अग्रजको अनुभवसँग जोड्नका लागि पुस्ताबिच फाटो होइन, सहकार्य र सहअस्तित्वको बाटो जरुरी हुन्छ भन्ने मूल मन्त्रसहित उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिरहेकी धनकुटाकी करुणा कटवाल बदलिँदो कांग्रेसकी अर्की प्रतिनिधि पात्र हुन्। २७ वर्षकै उमेरमा कांग्रेसको प्रभावशाली संगठनको नेतृत्व सम्हालिरहेकी कटवाल राजनीति गर्न चाहने युवाका लागि एक उदाहरण बनेकी छन्। यिनै कटवाल युवापुस्ताको नेतृत्व गर्दै कांग्रेसको केन्द्रीय समितिमा आउने योजनामा जुटेकी छन्।

त्यसैगरी, कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने बैतडीकी भूपी ऐर विद्यार्थी नेता हुन्। पद्मकन्या क्याम्पसमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर सभापति निर्वाचित भएकी ऐर विद्यार्थीमाझ मात्र नभएर कांग्रेसभित्रै पनि विस्तारै प्रभाव बढाउँदै छिन्। परिवर्तनलाई नजिकबाट बुझेकी ऐर यसपटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने तयारीमा रहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *