रास्वपाले दियो नेताहरूलाई जिल्ला-जिल्लाको जिम्मेवारी, असोज २० देखि देशभर अभियान चलाउने

डिसी नेपाल
१८ असोज २०८३ ८:३६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभरका ७७ वटै जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी सुम्पेको छ। पार्टीले असोज २० गतेदेखि २७ गतेसम्म एक साताका लागि विभिन्न जिल्लाहरूमा केन्द्रीय नेता, सांसद तथा पदाधिकारीहरूलाई खटाउने निर्णय गरेको हो।

प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार र पार्टीका विभिन्न अभियानमा प्रत्यक्ष परिचालन गरिने भएको छ। रास्वपा सहमहामन्त्री निशा डाँगीले यसपटक पार्टीले केवल नागरिकका कुरा सुन्ने मात्र नभई पार्टीका नीति, विचार र भावी योजनाहरूबारे नागरिकलाई जानकारी गराउन खोजेको बताएकी छन्।

डाँगीका अनुसार यो अभियान मुख्यतया दुई वटा उद्देश्यमा केन्द्रित रहनेछ। पहिलो उद्देश्य स्थानीय तहको कामकारबाही बुझ्ने र आगामी निर्वाचनमा उम्मेदवार छनोटको लोकतान्त्रिक विधिबारे जनतालाई स्पष्ट पार्ने रहेको छ। नागरिकको दैनिकी र विकाससँग सबैभन्दा नजिकबाट जोडिने संयन्त्र स्थानीय सरकार नै भएकाले त्यसको नेतृत्व छनोट गर्ने सही र पारदर्शी विधिबारे बुझाउनु आवश्यक रहेको पार्टीको ठहर छ।

अभियानको दोस्रो उद्देश्य वर्तमान सरकार गठन भएपछिको छ महिनामा संसद् र सरकारमार्फत भएका पहलहरूबारे जनतालाई जानकारी गराउनु रहेको छ। सरकार गठन भएको छ महिना पूरा भइसकेको अवस्थामा यस अवधिमा भएका नीतिगत पहल, नागरिकसँग गरिएका बाचाको कार्यान्वयनको स्थिति र आगामी दिनका योजनाबारे विस्तृत एवं पारदर्शी रूपमा जनतासमक्ष राख्ने तयारी रास्वपाले गरेको छ।

पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा पुग्ने कार्यक्रम छ। यो अभियान केवल चुनावको तयारी मात्र नभएर स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास भएको रास्वपाले जनाएको छ।

हेर्नुहोस् सूची :

RSP


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *